पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी–२ दुलेगौँडामा सवारी दुर्घटनामा परी व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन्।
मंगलबार जिल्लाको दुलेगौँडाबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०६४ प ०७८३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको ग१ज ४६६७ नम्बरको ट्याक्सी एकापसमा ठक्कर खाएपछि ट्याक्सी अर्को सामान बोक्ने भ्यानमा ठक्किएको थियो।
पोखराबाट दुलेगौँडातर्फ आउँदै गरेको ध१ज ६२४ नंको भ्यानमा ठोक्किएपछि ट्याक्सीमा सवार उपप्रमुख दरै, उहाँका छोरा २७ वर्षीय हेमन्त दरै, ट्याक्सी चालक कास्की पोखरा महानगरपालिका–५ मालेपाटनका ३८ वर्षीय सन्देश गोले र पोखरा महानगरपालिका–१४ चाउथेका १८ वर्षीय मोटरसाइकल चालक समेशकुमार थापा घाइते भएका हुन्।
गोलेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र अन्य तीन जनाको आविस्कार अस्पताल पोखरामा उपचार भएको तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।