आइतबार महाशिवरात्री पर्व मनाइँदैछ।
महाशिवरात्रीमा पशुपतिनाथ क्षेत्रमा बिहानैदेखि भक्तजनहरूको भिडभाड छ। बिहान २ बजेदेखि पशुपतिनाथ मन्दिर प्रवेश गर्ने सबै ढोकाहरू खोलिएको छ।
पशुपतिनाथ क्षेत्रमा हुने अत्यधिक भिडभाडलाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न स्थानमा सवारी साधन पार्किङको व्यवस्था मिलाइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानमा छुट्टाछुट्टै पार्किङको व्यवस्था गरिएको छ।
सिफल चौरमा दर्शनार्थीका सवारी, पासवाहक सवारी तथा सुरक्षाकर्मीका सवारी साधन पार्किङ गरिनेछ।
गुहेश्वरी पारी तीर्थयात्री र दर्शनार्थीका सवारी साधन राख्ने व्यवस्था गरिएको
छ। पशुपति विकास कोषको कार्यालय तथा भण्डारखाल क्षेत्रमा पासवाहक सवारी साधन पार्किङ गरिनेछ।
यस्तै तिलगंगा आँखा अस्पताल र करिडोर क्षेत्रमा तीर्थयात्री, दर्शनार्थी तथा पर्यटकका सवारी साधन राख्न पाइनेछ भने वनकाली क्षेत्रमा शिविर सञ्चालन गर्ने संघसंस्था, दमकल, एम्बुलेन्स, खानेपानी तथा सुरक्षाकर्मीका सवारी साधनका लागि व्यवस्था गरिएको छ। प्रहरी वृत्त गौशालामा पासवाहक र सरकारी सवारी साधन पार्किङ गरिनेछ।
विभिन्न नाकाबाट भित्रिने भक्तजनका सवारी साधनका लागि छुट्टाछुट्टै स्थान तोकिएको छ।
टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवतजावतको व्यवस्था मिलाइने ट्राफिक प्रहरीले जनाएको छ। दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र हुँदै चक्रपथमा सवारी सञ्चालन गर्न नसकिने अवस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग प्रयोग गरिनेछ। त्यसका लागि करिडोर र भित्री सडकमा बाक्लो संख्यामा ट्राफिक प्रहरी खटाइएको छ।
सामान्य अवस्थामा चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा सवारी सञ्चालन यथावत् रहने कार्यालयले जनाएको छ।
तर अत्यधिक भिडभाडका कारण समस्या उत्पन्न भएमा डाइभर्सन गरी वैकल्पिक मार्गबाट सवारी सञ्चालन गरिने जनाइएको छ।
तिनकुनेबाट सिनामंगलतर्फ, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ तथा पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने मालबाहक सवारी साधन आवश्यकता अनुसार निषेध गरिएको छ।
बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था गरिएको छ।
त्यस्तै, गौशाला चोकमा अत्यधिक भिडभाड भई सवारी सञ्चालन प्रभावित भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर–मैतिदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ तथा सिफल चौरबाट जय बागेश्वरीतर्फ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गराई सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।