हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो चौबीस घन्टामा पहाडी र तराई भूभागमा छिटपुट वर्षा भएको छ।
मंगलबार तराई भू-भागका केही स्थानहरूमा मध्याह्नसम्म हुस्सु/कुहिरो रहने पूर्वानुमान छ।
साथै देशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
मंगलबार राति पनि तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
राति गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।