सोमबार बिहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ।
पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नं को उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए।
उनका अनुसार उक्त बस तनहुँको जामुनेका ओमकुमार श्रेष्ठको हो।
गाडीमा श्रेष्ठ पनि सवार रहेको बुझिएको उनले जानकारी दिए।
'प्रहरीबाट प्राप्त जानकारी अनुसार गाडीमा सवारमध्ये हालसम्म २० जनाको निधन भएको छ, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीका कर्मचारी पनि घटनाबारे थप जानकारी लिन र बुझ्न मलेखुबाट घटनास्थलमा पुगेका छन्,' उनले भने।
बसका चालक सुजित नेपाली रहेको र उनको अवस्था पनि हालसम्म अज्ञात नै रहेको साईले जानकारी दिए।
उनका अनुसार घाइतेहरूको काठमाडौंस्थित ट्रमा सेन्टरसहित हस्पिटल र केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।