काठमाडौंको कुमारीगालमा माटोको भित्ता भएको, टिनले छाएको एउटा अँध्यारो र साँघुरो कोठा थियो। भुँइमा बोराहरू ओछ्याइएको थियो। एउटा पुरानो खुट्टेखाट पनि थियो।
केटाकेटीहरू जति खुट्टेखाट र वरपर भुइँमा लश्करै सुत्थे।
भुइँमा सुत्दा मुसा, कीरा–फट्यांग्रा र सर्पको खुब डर हुन्थ्यो। अझ हावाहुरी सहितको छड्के पानीले चुर्लुम्मै डुबाउँथ्यो।
'छानो गतिलो भइदिएको भए पनि रातहरूमा निद्रा पर्थ्यो कि,' पार्वती तिवारी आचार्य सम्झिन्छिन्, 'कयौं रातहरू सडकपेटीमा बोरा ओछ्याएर पनि कटेका छन्।'
काभ्रेपलाञ्चोकको पात्लेखेल गाउँमा जन्मिएकी पार्वतीको परिवारले घर छाडेर हिँड्नु परेपछि उनको बास कुमारीगालमा हुन थालेको थियो।
पार्वतीका अनुसार साहुको ऋण तिर्न नसकेपछि भएको सबै जायजेथा साहुले हडपे। त्यही कारण उनको परिवार घरबारबिहीन भयो। आमा पात्लेखेल छाडेर उनीसहित सात सन्तान लिएर कुमारीगाल डेरा पुगेकी थिइन्।
उनकी आमाले दैनिक ज्यालामजदुरी गरेर डेरा भाडा र खानेकुरा जोहो गर्थिन्। डेराको एक कुनामा स्टोभ थियो। उनकी आमाले खुब बल लगाएर दम दिन्थिन्। मुस्किलले बल्थ्यो।
त्यसैमा तातोपानी तताएर चिउरा ढड्याएर कति छाक टर्थे। सबैलाई भाग पुर्याउँदा, आमा भने तातोपानी मात्रै पिएर सुतेको पनि सम्झना छ उनलाई।
'तर हामीलाई अमृत भोजन भन्दा कम थिएन त्यो खान्की। ऊ बेला हाम्रो दायित्व यस्तो थियो कि, कोही छोराछोरी पशुपतिमा माग्न जान्थ्यौं, कोही साना भाइबहिनी हेरेर बस्थ्यौं। आमा ज्यालादारी काममा निस्किनुहुन्थ्यो। बुबा कता हो कुनै टुंगो हुन्थेन,' पार्वतीले आफ्नो आत्मकथा 'पुर्पुरो' मा पनि आफ्ना भोगाइ लेखेकी छन्।
आफैले प्रकाशन गरेको 'पुर्पुरो' किताबमा पार्वतीले सविस्तार कथा पस्केकी छन्।
परिवार ठूलो, आमाको एक्लो संघर्षले भोक टार्न धौधौ थियो। पार्वती पशुपति अगाडि प्लास्टिक र बोरा ओछ्याएर चामल माग्न बस्थिन्। कति छाक त्यही मागेको चामलबाट टर्थे।
आमा मेलापात जाँदा चिउरा, आलु, भुटेका मकै जस्ता खानेकुरा आफूले नखाई पोल्टो कसेर ल्याइदिन्थिन्। बच्चाहरू खोसाखोस गरेर खान्थे।
गुह्वेश्वरी लगायत मन्दिरमा हुने भोजभतेरमा घुसेर पनि केटाकेटीहरू कति भोक मेटाउँथे।
'यी माग्ने बच्चाहरूले हैरान पार्ने भए भनेर कति कार्यक्रममा त पस्नै दिन्थेनन्। तर हामी ढुकेरै बस्थ्यौं। र, सबैले खाएर बाँकी भएको भोज मागेर टन्न खान्थ्यौं। अलिअलि त घर पनि ल्याउँथ्यौं,' उनी भन्छिन्।

मान्छे मरेर काजको बेला होस् वा बिहे, ब्रतवन्ध, उनीहरू पुगिहाल्थे। पशुपति क्षेत्रमा प्रायः मारवाडी समुदायले हलुवा, जेरी, पुरी लगायत खानेकुरा बाँड्थे। उनीहरू त्यहाँ पनि पुग्थे।
सोमबार र शनिबार धर्मशालामा बाबाहरूलाई पकवान बाँडिन्थ्यो, त्यो पनि उनीहरूले छाड्थेनन्। वृद्धाश्रम वरपर बाँडिने सातु र सर्वत होस् वा बौद्ध स्तुप अगाडि विदेशीहरूले बाँड्ने खानेकुरा, उनीहरू छाड्थेनन्।
पार्वतीलाई लाग्छ, 'जन्मेपछि बाँच्ने कला जान्नु नै जिन्दगी रहेछ। उति बेला मागेरै भए पनि पालिनुपर्थ्यो। त्यो नै मेरो सर्वश्रेष्ठ कला थियो।'
उमेरले दशक पार गर्न लागेको थियो। उनलाई 'क' अक्षर पनि उच्चारण गर्न आउँथेन। वरपरका साथीहरू स्कुल गएको देख्दा पार्वतीलाई पनि पढ्ने रहर खुब जागेको थियो।
कहिलेकाहीँ माग्न पशुपति क्षेत्रतिर पुग्दा त्यहीँको शिवपार्वती विद्यालय जान्थिन्। कालोपाटीमा सेतो चकले लेखेर शिक्षकहरूले अरूलाई पढाएको झ्यालबाट चिहाएर हेर्थिन्।
एक दिन एक जना शिक्षकले बोलाएर पढेको हेर्न दिएकी थिइन्। तिनले हेडसरसँग कुरा गरेर भर्ना गर्न लगाउने बाचा पनि गरेकी थिइन्। तर पार्वती भर्ना भएर पढ्न पाउने दिन कहिल्यै आएन।
अलि ठूली हुँदै गएपछि पार्वतीले कहिलेकाहीँ होटलका भाँडा माझ्ने काम पाउन थालेकी थिइन्। अरू मानिसहरूका घरमा लुगा धुने काम पनि पाउँथिन्। घरायसी काम पाउँदा पैसा पनि पाइने भएकाले फुरूंग हुँदै पुग्थिन्।
उनी, उनका भाइ र दिदीहरू पैसा कमाउन भनेर गलैंचा कारखानामा काम गर्न थालेका थिए। त्यो कारखानामा ऊन कात्ने, डल्ला पार्ने जस्ता काम गर्थे।
एकदिन उनी र उनका भाइ बौद्धस्थित एक कारखानामा काम गर्दै थिए। त्यो कारखानामा बालश्रमिक प्रयोग भएको छ कि छैन भनेर बेलाबेला अनुगमन हुने रहेछ। एक दिन अनुगमन गर्न आएका एक संस्थाका व्यक्तिहरूले पार्वती काम गरिरहेको देखे र उनलाई बोलाएर सोधे।
साहुको डरले पार्वतीले केही भन्न सकिनन्। त्यसपछि उनीहरूले अलि पर लगेर फकाएर सोधपुछ गरे। पार्वतीले आफ्नो कामले गर्दा ठेला उठेका र चरचर फुटेर रगत बगिरहेका हातले आँसु पुछ्दै, ऊन नकाते घरमा निकै समस्या पर्ने कुरा सुनाइन्।
बालबालिकालाई काममा लगाउनु गैरकानुनी हो। ती संस्थाका प्रतिनिधिहरूले उनी र उनका भाइलाई कारखानाबाट उद्धार गरेर भक्तपुर थिमीस्थित एक होस्टलमा लगे। र, पढाउनका लागि बुंगमती नजिक एउटा विद्यालय नजिकको पुनर्स्थापना घरमा लगियो।
'त्यहाँ म र भाइ जस्ता थुप्रै बालबालिका थिए। कसैका आमाबुबा थिएनन्। सडक बालबालिका थिए। हामीलाई त्यहाँ केही महिना आधारभूत शिक्षा समेत पढाइयो,' उनले भनिन्।
पार्वती पढाइमा एकदमै रूचि राख्थिन्। दिनरात मेहनत गरिन्। छिट्टै सिकेकाले उनलाई कक्षा ३ मा भर्ना गरियो। पछि कति कक्षाहरू नपढिकनै उनले कक्षा ८ को जिल्ला स्तरीय परीक्षा पास गरिन्।
२०५८ सालको कुरा हो।
दरबार हत्याकाण्डपछि भने परिस्थिति फेरिएको उनी सम्झिन्छिन्।

'देशमा जनआन्दोलन चर्किँदै गएको थियो। हामीलाई पढाइरहेको संस्थाले अब नपढाउने भएछ। पारिवारिक पुनर्मिलन गराउने कार्यक्रम ल्याएछ। अब कता जाने के गर्ने अलमल भयौं। थप पढ्नका लागि याचना गरेँ,' उनले सुनाइन्, 'संस्थाले सम्भव नहुने भन्यो।'
पछि त्यहीँ पढाइरहेका बेलायतका एक शिक्षकले एसएलसी (एसइई सरह) सम्म पढाइ खर्च बेहोरिदिने भए। उनले एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरिन्।
एसएलसीपछि विज्ञान विषय लिएर पढ्ने र डाक्टर बन्ने पार्वतीको सपना थियो। एसएलसीसम्म पढाइदिने तिनै शिक्षकले प्लस–टू पढ्न पनि सहयोग गरे। कुमारीपाटीस्थित एक शैक्षिक संस्थामा विज्ञान विषय लिएर पढिन्, प्रथम श्रेणीमै उत्तीर्ण गरिन्।
'त्यसपछि भने पढाइलाई निरन्तरता दिन सकिनँ। पढाइदिने कोही भएन। मेरो अवस्था थिएन,' उनले भनिन्, 'डाक्टर बन्ने सपना तुहियो।'
उनी परिवारको खोजी गर्न निस्किन्।
त्यही क्रममा आमा विगत कयौं वर्षदेखि उही कुमारीगालमा कोठाभाडा तिर्न नसकेर ऋणमा डुबेकी छिन् भन्ने कुरा थाहा पाइन्। आमा एक्लै र बिरामी थिइन्।
पछि पार्वतीले एउटा म्यानपावर कम्पनीमा काम पाइन्। साँझ ट्युसन पढाउने काम पनि थालिन्। कमाइको पैसा दैनिक छाक टार्न र काममा जाँदा गाडी भाडामै ठिक्क हुन्थ्यो।
उनलाई पढ्न पनि मन थियो। पहिले आफू पढेकै कलेजमा आफ्नो समस्या राखिन् र व्यवस्थापन संकायमा स्नातक पढ्ने अवसर पाइन्। त्यहीँ म्यानपावरमा काम गर्दागर्दै उनले बैंकमा आवेदन दिइन्। र, टेलिफोन अपरेटरमा जागिर पाइन्।
'यसरी काम गर्दै आएकी म अहिले नेपाल एसबिआई बैंकमा अफिसर छु। काठमाडौंमा आफ्नै घर पनि जोडेकी छु। एक छोरा र एक छोरी छन्। पहिले जस्तो दुःख छैन,' उनले भनिन्, 'संघर्षले सडकदेखि अहिले यो ठाउँसम्म पुर्याएको छ। आफ्नै संसार भएको छ।'
उनले थपिन्, 'तर पनि परिवार, समाजको नजर उही पुरानै ठाउँमा देख्दा कहिलेकाहीँ नराम्रो लाग्छ।'
पहिले सडकमा हुँदाको अवस्थालाई जोडेरै आफन्तहरूबाट अझै अपमान झेल्नुपरेको उनले गुनासो गरिन्।
'अहिले सबै कुरा एक्लैले सम्हालेर हिँडेकी छु। तर महिला भएकैले कति हेपिनुपर्यो। छोराको अवस्था जस्तो भए पनि राम्रो हुने, बुहारी भएकैले हेपिनुपर्ने, सहनुपर्ने। पितृसत्तात्मक सोच अझै उस्तै छ,' पार्वती भन्छिन्।
यस्तै भोगाइले उनलाई किताब लेख्न प्रेरित गरेको हो।
'आज म यो स्थानमा आइपुगेकी छु। तर मेरो विगतको कथाले मलाई अहिलेसम्म छाडेको छैन,' पार्वतीले भनिन्, 'मेरो कथाले कसैलाई प्रेरित पनि गरोस्, कसैको नजरिया पनि बदलियोस् भन्ने चाहना हो।'
