स्ट्रेट अफ हर्मुजमा अमेरिकाको नाकाबन्दीपछि इरानले अर्बौं आम्दानी गुमाएको छ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले नाकाबन्दीयता इरानले ४.८ अर्ब डलर आम्दानी गुमाएको रिपोर्ट प्रस्तुत गरेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
हर्मुजमा इरानले अमेरिकी र इसराइलीसँग उनीहरूलाई समर्थन गर्ने अन्य देशका जहाजहरूमा कडिकडाउ गर्न थालेपछि ओमानको खाडी क्षेत्रमा अप्रिल १३ देखि अमेरिकाले इरानमाथि नाकाबन्दी लगाएको हो।
अमेरिकाले इरानका बन्दरगाह जाने र त्यहाँबाट बाहिरिने सबै जहाजहरूलाई रोकिरहेको छ। तीन साताको नाकाबन्दीबाट इरानलाई झन्डै ५ अर्ब डलर नोक्सानी भएको मूल्यांकन पेन्टागनले गरेको हो।
नाकाबन्दीपछि तेल र अन्य सामग्री बोकेका ४० भन्दा बढी जहाजलाई रोकेर फर्काइएको छ। कुल ३१ वटा तेल ट्यांकरमा लोड गरिएको करिब ५३ मिलियन ब्यारेल इरानी तेल अहिले खाडीमै अड्किएको भनिएको छ। यसको मूल्य मूल्य कम्तीमा ४.८ अर्ब डलर बराबर रहेको बताइएको छ।
तीमध्ये दुई जहाज अमेरिकाले यसअघि नै नियन्त्रणमा लिएको थियो।
भण्डारण क्षमता भरिँदै गएपछि इरानले पुराना ट्यांकरलाई अस्थायी भण्डारणका रूपमा प्रयोग गर्न थालेको पनि एक्सियसले लेखेको छ।
केही ट्यांकरहरूले अमेरिकी अवरोधबाट बच्न चीनतर्फ तेल पुर्याउन लामो र महँगो वैकल्पिक मार्ग प्रयोग गरिरहेको पनि अधिकारीहरूले बताएका छन्।
ट्यांकर ट्रयाकिङ कम्पनीका सह–संस्थापक समीर मदानीका अनुसार एचयुजी नामक ठूलो इरानी ट्यांकरले अमेरिकी निगरानीबाट बच्न पाकिस्तान र भारतको तट नजिकै हुँदै मलेसियाको मलक्का जलमार्गतर्फ गएको देखिएको छ, जहाँबाट प्रायः तेल अन्य जहाजमा सारेर चीन पठाइन्छ।
मदानीले भविष्यमा इरानी ट्यांकरहरूले ठूलो संख्यामा एकैपटक नाकाबन्दी तोड्ने प्रयास गर्न सक्ने सम्भावना पनि औंल्याएका छन्।
'इरानले पाकिस्तान सीमाना नजिक थप भण्डारण तयार भएपछि कुनै अवसर कुरेर एकै रात ‘ग्रेट इस्केप’ गर्न सक्छ,' उनले एक्सियससँग भनेका छन्।
इरानको तेल भण्डारण क्षमता अब केही हप्ता वा बढीमा एक महिनाभित्र भरिन सक्ने देखिएको पनि एक्सियसले लेखेको छ।
नाकाबन्दी केही साता नाकाबन्दी लम्बिए इरानले तेलखानी नै बन्द गर्नुपर्ने अवस्था देखिन्छ।
खानी चालु नहुँदा बिग्रिन सक्छन्। खानी बिग्रिए युद्ध अन्त्य भएपछि पनि इरानले तुरून्तै तेल निकाल्न सक्ने छैन। त्यसैले इरानले ढिलो-चाँडो आणविक कार्यक्रमबारे आफ्नो सर्त मान्नेछ भनेर ट्रम्पले नाकाबन्दी लगाइरहेका छन्।
पछिल्लो समय हर्मुज पुन: खोल्न र युद्ध अन्त्य गर्न अमेरिकालाई इरानले नयाँ प्रस्ताव गरेको छ। अहिलेलाई हर्मुज खोलेर युद्ध अन्त्य गर्ने र आणविक हतियारसम्बन्धी वार्ता पछि गर्न इरानले प्रस्ताव गरेको छ।
तर अहिले नै हर्मुज खोले आणविक हतियारसम्बन्धी वार्तामा इरानमाथि दबाब हाल्न नसकिने भनेर ट्रम्पले प्रस्ताव मानेका छैनन्। केही दिन नाकाबन्दी लम्बिए इरानले थप समस्या भोग्ने अमेरिकी आकलन छ।
त्यसकारण लामो समयसम्म नाकाबन्दी जारी राखेर इरानलाई गलाउने र आफूले भने अनुसारको सर्तमा सहमति गराउने रणनीति ट्रम्पले लिएका छन्।