खोटाङको बराहपोखरी गाउँपालिकामा भीरबाट लड्दा शनिबार दुई स्थानीयवासीको ज्यान गएको छ।
बराहपोखरी गाउँपालिका–५ पौवासेराका दुई पुरूष शनिबार दिउँसो ढकालेखोला आसपासको भीरबाट खसेका थिए। दुवै जना घटनास्थलमै मृत फेला परेका हुन्।
मृत्यु हुनेमा ५२ वर्षीय बमबहादुर राई र ४० वर्षीय मनीकुमार राई रहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन्। दुवै जना पौवासेरा निवासी हुन्।
वडाध्यक्ष फौदराज राईले दिएको जानकारी अनुसार बमबहादुर अघिल्लो दिन घाँस काट्न जाँदा हराएको खुकुरी खोज्न शुक्रबार पुनः भीरतर्फ गएका थिए। हराएको सामान खोज्न उनी छिमेकी मनीकुमारलाई साथमा लिएर ढकालेखोला भीर पुगेका थिए।
खोजीका क्रममा भीरको अप्ठ्यारो भागमा पुगेपछि एक जना चिप्लिएको र जोगाउने प्रयासमा अर्को पनि सँगै तानिँदा दुवै जनाले सन्तुलन गुमाएको प्रारम्भिक अनुमान गरिएको छ।
त्यसपछि उनीहरू अग्लो भीरबाट तल खसेको स्थानीयको भनाइ छ।
घटनापछि स्थानीयवासीले तत्काल खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
दुवै जनाको शव कानुनी प्रक्रिया पूरा गरेर परीक्षणका लागि उदयपुरको बेलटार पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।