काठमाडौंको मिनभवनमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
मंगलबार बिहान पौने ९ बजे काठमाडौं-३१ मिनभवनस्थित सिभिल अस्पताल अगाडि फोहोर बोक्ने टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
बा. २ क ३२२९ नम्बरको फोहोर बोक्ने टिपर तीनकुनेतर्फ जाँदै थियो। त्यस क्रममा प्र. ३ -००१ ब. ९४५ को सरकारी नम्बरको सरकारी नम्बर प्लेटको स्कुटरलाई ठक्कर दिएको हो।
स्कुटरमा सवार सुनसरी इनर्वा नगरपालिका-५ घर भई भक्तपुर लोकन्थली बस्ने ४८ को बद्री कोइराला गम्भीर घाइते भएका थिए। उनको उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको एसपी भट्टराईले बताए।
टिपर र चालक गोरखाका घर भई पेप्सीकोला बस्ने २६ वर्षीय विकास थापा मगर प्रहरीको नियन्त्रणमा छन्।