काठमाडौंको नैकाप र सुकेधारामा दुई वटा गाडी आगजनी गरिएको अवस्थामा फेला परेको छ।
मंगलबार बिहान काठमाडौंका दुई ठाउँमा गाडी आगजनी भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार नैकापस्थित पुल नजिकै एउटा बा ७ च १४०१ नम्बरको भ्यान आगजनी भइरहेको अवस्थामा फेला परेको थियो।
सुकेधारामा पनि अर्को बिएए २८३६ नम्बरको कार आगजनी भएको अवस्थामा फेला परेको हो।
‘बिहान पौने ३ र पौने ४ बजेतिरको घटना हो। आगजनी भएको खबर प्राप्त भएपछि दमकल पुगेर आगो निभाइएको थियो,’ उनले भने।
घटनास्थलबाट दुर्गा प्रसाईंसँग सम्बद्ध पर्चाहरू समेत फेला परेको प्रहरीले जनाएको छ।
उनकै समूहमा रहेका व्यक्तिहरूले गरेको हुनसक्ने प्रहरीको आशंका छ। प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको छ।
‘दुबै सवारीका धनी सम्पर्कमा आउनुभएको छैन। हामी सवारीधनी पनि खोज्छौं। पर्चाहरू फेला परेकाले उनकै समूहमाथि अनुसन्धान पनि गर्छौं,’ उनले भने।
दुर्गा प्रसाईंले फागुन २१ गते हुने निर्वाचन बिथोल्न खोजेको आरोप छ। उनी हाल जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा छन्।