मोरङ प्रहरीले निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले बुधबार अपराह्न मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित बुधबारे चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए।
चौधरीका अनुसार पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चम्लागाईं र झापाको दमक नगरपालिका–८ बस्ने ३७ वर्षीय सुमन पौडेल छन्।
कृष्णप्रसाद नेकपा (बहुमत) का मोरङ जिल्ला इन्चार्ज र सुमन जिल्ला सचिव हुन्। उनीहरूलाई निर्वाचन बहिष्कार सम्बन्धी गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरू मोरङकै सुन्दरहरैंचा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको किनारमा फेला परेको शंकास्पद वस्तु (होक्स बम) प्रकरणसँग समेत सम्बन्धित हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको छ।
त्यहाँ शंकास्पद वस्तु फेला परेपछि सुरक्षाकर्मीले त्यसलाई निष्क्रिय बनाएका थिए।
उनीहरूले प्रयोग गरेको को ६ प ५११६ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीका पाँच थान मोबाइल, पार्टीको झण्डा र १०७ थान पर्चा–पम्पलेटसमेत बरामद गरिएको प्रनाउ चौधरीले बताए।