गुल्मीमा माछा मार्न भन्दै खोलामा गएका एक युवकको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मुसिकोट नगरपालिका वडा नं. १ अरेवाका २१ वर्षीय दीपजन दर्लामीको बढिगाड खोलामा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार दीपजन आइतबार साँझ माछा मार्न भन्दै आफ्नै छिमेकी ५६ वर्षीय डम्बर दर्लामीसँग बढिगाड खोलातर्फ गएका थिए।
माछा मार्नका लागि जाल बोकेर गएका दीपजन खोलामा डुबेपछि डम्बरले दीपजन डुबेकोबारे स्थानीयवासी र प्रहरीलाई जानकारी गराएका थिए।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी पौदी अमराईको प्रहरी टोलीले आइतबार साँझदेखि नै दीपजनको खोजी सुरू गरेको थियो।
स्थानीयबासीको सहयोगमा खोजी गर्दै जाँदा प्रहरीले दीपजनको शव सोमबार बिहान मुसिकोट नगरपालिका वडा नं. १ स्थित उपल्लो राक्से क्षेत्रको बढिगाड खोलामा फेला पारिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरू गरेको जनाएको छ।