रूकुम पश्चिममा सहोदर दिदी बहिनीको शव सानीभेरी नदीमा फेला परेको छ।
बाफीकोट गाउँपालिका–३ की १४ वर्षीया कल्पना वली र १२ वर्षीया उर्मिला वलीको शव फेला परेको हो।
जिल्लाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि पुनका अनुसार उनीहरू सहोदर दिदी बहिनी हुन्।
अर्की १२ वर्षीया सपना वली बेपत्ता छिन्। उनको खोजी भइरहेको छ। प्रहरी निरीक्षक पुनका अनुसार बेपत्ता सपना पनि एकै घर परिवारभित्रै भाइ– भाइका छोरी हुन्।
मंगलबार बिहान दुई दिनी बहिनीको शव बाफीकोट – ३ स्थित सानी भेरी नदीमा पाँच सय मिटरको दुरीमा फेला परेको प्रहरी प्रवक्ता पुनले बताए।
यी तीन दिदी बहिनी सोमबार बेलुकी मुसिकोट नगरपालिका–१ मा आफन्तको बिहेमा जान भनेर घरबाट गएका थिए। नदी तर्ने क्रममा उनीहरू बगेको अनुमान भइरहेको प्रहरी निरीक्षक पुनले बताए।
‘दुई दिदी बहिनीको शव पोष्टमर्टमका लागि अस्पताल पठाइएको छ,’ उनले भने, ‘हामी बेपत्ता अर्की बालिकाको खोजीमा खटिएका छौं।’
घटनाबारे थप अनुसन्धान हुने प्रहरीले बताएको छ।