कैलालीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्।
भजनी नगरपालिका–९ मा ५० वर्षीया मानादेवी चौधरीको हत्या भएको थियो।
फागुन १९ गते बिहान साढे ६ बजेतिर होलीको दिन बिहान उनीहरू सुत्ने बाख्राको खोर रहेको गोठभित्रै मानादेवीको शव फेला परेको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार घटना अनुसन्धानबाट ५५ वर्षीय श्रीमान प्रेमलाल चौधरीले श्रीमतीको हत्या गरेको तथ्य खुल्न आएको छ।
घटना अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रसिंह साउँदका अनुसार मानादेवीको अनुहार तथा शरीरका विभिन्न भागमा चोटपटक थिए।
प्रहरी अनुसन्धानबाट मदिराले मातेका प्रेमलालले श्रीमती मानादेवीको राति नै हत्या गरेको प्रहरीको अनुमान छ।
‘मदिराले मातेका प्रेमलालले सामान्य विवादका क्रममा श्रीमतीमाथि लाठीले निर्मम कुटपिट गरी हत्या भएको खुल्छ,’ प्रहरी निरीक्षक साउँदले भने।
२८ वर्षीय छोरा मगरु चौधरीले आमाको हत्या गर्ने बुवा विरूद्ध किटानी जाहेरी दिएका छन्।
कर्तव्य ज्यान शीर्षकमा मुद्दा चलाउने गरी हत्या आरोपी प्रेमलालमाथि थप अनुसन्धान भइरहेको डिएसपी तिमिल्सिनाले बताए।
प्रेमलाल प्रहरी हिरासतमा छन्।