काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रमा पेस्तोल र गोली बरामद भएको छ।
मंगलबार दिउँसो अन्दाजी २:५० बजे सो क्षेत्रमा हतियार रहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गरेको थियो।
खोजीका क्रममा जम्बुडाँडास्थित पहेँलो पुल नजिकै खोला छेउबाट एक थान पेस्तोल, तीन थान म्याग्जिन, ७.६२ एमएमका १३ राउण्ड गोली र ९ एमएमका ८७ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका हतियार तथा गोली कसले र किन त्यहाँ राखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।