भाषा आयोगका सदस्य तथा नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको सोमबार हृदयाघातका कारण निधन भएको छ।
एक कार्यक्रममा सहभागी हुने क्रममा हृदयाघात भएपछि मानन्धरलाई तत्काल शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टर लगिएको थियो। त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे।
५९ वर्षीय मानन्धर लामो समयदेखि पत्रकारितामा सक्रिय थिए। नेपाल भाषाको साप्ताहिक पत्रिका 'इनाप' बाट पत्रकारिता सुरू गरेका मानन्धर विश्वभूमि दैनिकको प्रकाशनपछि पूर्णकालीन पत्रकार बनेका थिए।
त्यसपछि सन्ध्या टाइम्स तथा नेपालभाषा टाइम्समा सम्पादकको जिम्मेवारी निर्वाह गरे।
मानन्धरले अप्सरा फिल्म म्यागजिन, कोशल्वहं चिनाखँ स्वलापौ, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने थाय्भू पत्रिकाको सम्पादक मण्डलमा रहेर काम गरेका थिए।
२०४६ सालको जनआन्दोलन बेला प्रहरीको कडा सुरक्षाबीच वीर अस्पतालमा भर्ना गरिएका कमान्डर गणेशमान सिंहसँग लिएको अन्तर्वार्ताले मानन्धरलाई चर्चित बनाएको थियो। सिंहको अन्तर्वार्ता लिन उनी चिकित्सकको भेषमा त्यहाँ पुगेका थिए।
नेपाल भाषा आन्दोलन, नेपाल सम्बत् आन्दोलन तथा नेवाः संस्कृतिसँग सम्बन्धित विभिन्न विषयमा मानन्धरका थुप्रै लेख प्रकाशित छन्।
सेतोपाटी, गोरखापत्र, कान्तिपुर, नेपाल समाचारपत्र, रातोपाटी, नागरिक दैनिक लगायतका सञ्चारमाध्यममा उनका लेख प्रकाशित भएका छन्। त्यस्तै, जनआस्था लगायत विभिन्न नेपालभाषाका पत्रिकामा व्यंग्यकारका रूपमा पनि उनले लेख लेख्दै आएका थिए।
नेपाल भाषा साहित्यमा पनि मानन्धरको ठूलो नाम छ। मानन्धरका 'थौं घन्टाघरं जिके ई न्यनाच्वन' (आधुनिक कविता संग्रह), 'पद्मरत्न तुलाधर' (मानव अधिकारवादी पद्मरत्न तुलाधरको जीवनी) पुस्तक प्रकाशित छन्।
'२०४६ सालको जनआन्दोलनमा विश्वभूमि दैनिकको भूमिका' विषयमा शोधपत्र पूरा गरेका मानन्धरले डा. अजयक्रान्ति शाक्य र सन्ध्या वज्राचार्यसँगको सहकार्यमा 'इन्द्रजात्रा/यँयाः' पुस्तक पनि लेखेका छन्।
२०२३ साल कात्तिकमा जन्मिएका मानन्धरका श्रीमती र दुई सन्तान छन्।