हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
बुधबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ। पछिल्लो तीन घन्टामा कास्कीको लामापाटनमा ६.६ मिलिमिटर वर्षा मापन भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई तथा उपत्यकाका थोरै स्थानहरूमा तुवाँलो पनि रहनेछ।
दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
बुधबार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ, बाँकी भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।
राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।