नवलपरासी पूर्वमा पाँच वटा सवारी साधन आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।
गएराति करिब साढे १ बजे नवलपरासी पूर्वस्थित विनयी त्रिवेणी गाउँपालिका-२ घिउखोला नजिक सुनौलीबाट काठमाडौं आउँदै गरेको यूपी २१ बिटी २७९१ नम्बरको कन्टेनरले बसलाई ठक्कर दिएको थियो।
काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२ -००१ ख ११९२ नम्बरको बस कन्टेनरको ठक्करबाट अनियन्त्रित भएपछि थप तीन वटा सवारी साधनलाई ठक्कर दिएको हो।
बसले बुटवलबाट नारायणघाटतर्फ आइरहेको कर्णाली प्रदेश ००२ प ९५७० नम्बरको मोटरसाइलक, काठमाडौंबाट रोल्पा जाँदै गरेको लु प्र ०१-००१ ख ०८२२ नम्बरको बस, भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख २४७५ नम्बरको बस समेत ठोक्किएको थियो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार २ जना र ०८२२ नम्बरको बसमा सवार ६ जना घाइते भएका छन्।
मोटरसाइकल चालक कालीकोटको रास्कोट नगरपालिका-६ का ३० वर्षीय अमर कार्की, मोटरसाइकलको पछाडि सवार रास्कोट-७ का २५ वर्षीय महेन्द्र महतारालाई भरतपुर अस्पताल पठाइएको छ।
बसमा सवार रहेकाहरू रामेछापका ३४ वर्षीय विनोदकुमार अछामी, धरानका ३० वर्षीय नाम्नुहाङ राई, रोल्पाका ४७ वर्षीय उदीराम विष्ट, २४ वर्षीय दर्शन पोखरेल, ३४ वर्षीय चन्द्रसिंह थापा र ६० वर्षीय यज्ञप्रसाद भूसाल घाइते छन्।
उनीहरूलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बाटो एकतर्फी रहेको र खुलाउने प्रयास भइरहेको छ।