डडेल्धुरामा बन्दुक पड्किँदा गोली लागेर एक किशोरको मृत्यु भएको छ।
बैतडीको शिवनाथ गाउँपालिका–४ का १७ वर्षीय सुवाश महराको सोमबार बेलुकी करिब ६ बजेतिर भरूवा बन्दुकबाट गोली लागेर मृत्यु भएको डडेल्धुराका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले सेतोपाटीलाई बताए।
डडेल्धुराको परशुराम नगरपालिका–२ जोखबुढा बसौटीका ४४ वर्षीय गणेशबहादुर बोहरा र स्थानीय अर्का एक जना १७ बर्षीय किशोरलाई घटना अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिइएको छ।
अवैध रूपमा घरमा बन्दुक लोड गरेर राखेको घटना अनुसन्धनका लागि गणेश बहादुरलाई र गोली चलेको घटनाबारे अनुसन्धान गर्न प्रत्यक्षदर्शी अर्का किशोरलाई नियन्त्रणमा लिइएको हो।
प्रहरी निरीक्षक चन्दका अनुसार बैतडीका सुवास ब्रतबन्धको कार्यक्रममा सहभागी हुन एकदिन पहिले डडेल्धुरास्थित दिदीको घरमा गएका थिए।
दिदीको घरमा भरूवा बन्दुक देखेपछि दुई जना किशोरले फोटो खिच्ने भन्दै बन्दुक निकालेका थिए।
‘बन्दुक समातेर पोज दिँदै फोटो खिच्ने क्रममा एक्कासि लोडेड बन्दुकबाट गोली चल्न गई सुवासलाई लागेको भन्ने छ,’ प्रहरी निरीक्षक चन्दले भने, ‘हामीले नियन्त्रणमा लिएका किशोरसहित बन्दुक राख्ने दुई जनालाई कार्यालयतर्फ ल्याउने क्रम जारी छ। थप कुरा अनुसन्धानपछि खुल्ने छ।’
नियन्त्रणमा लिइएका किशोरसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालयमा पुर्याएपछि सोधपुछ हुने र त्यसपछि घटना भवितव्य हो वा होइन भन्ने खुल्ने प्रहरी निरीक्षक चन्दले बताए।
मंगलबार साँझ जोखबुढामा एक जना किशोर बन्दुकको गोली लागेर घाइते रहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले गोली लागेर घाइते अवस्थाका सुवाश महरालाई फेला पारेको थियो।
प्रहरीले घटनास्थलमा भरूवा बन्दुकसहित सुवासलाई फेला पारेपछि उपचारका लागि जोगबुढा अस्पताल पुर्याएको थियो। चिकित्सकले चेकजाँच पछि उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।