वीरगञ्जमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि प्रशोधन प्लान्ट तयार भइरहेको छ।
वीरगञ्ज महानगरपालिका नगवास्थित फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लान्ट बनाउने काम अन्तिम चरणमा पुगेको हो।
प्लास्टिक फोहोरलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी पुनःप्रयोगमा ल्याउने उद्देश्यले प्लान्ट बनाउन लागिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ। त्यसका लागि सूर्य नेपाल प्रालिले दुई करोड रुपैयाँ लगानी गरेको छ।
फोहोर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउने नीति अनुरूप प्रशोधन केन्द्रभित्र आधुनिक प्लान्ट तयार गरिएको महानगरपालिकाका वन तथा वातावरण शाखा प्रमुख इन्जिनियर राकेश साह बताउँछन्।
महानगरले दैनिक संकलन गर्ने प्लास्टिकजन्य फोहोर छुट्याएर प्रशोधन गर्ने र त्यसलाई पुनः प्रयोग गर्न मिल्ने सामग्रीका रूपमा रूपान्तरण गरिने उनी बताउँछन्।
प्लान्टले दैनिक २० मेट्रिकटन प्लास्टिकजन्य फोहोर प्रशोधन गर्ने क्षमताको छ। महानगरमा दैनिक ६०/६५ मेट्रिक टन फोहोर संकलन हुँदै आएको छ।
गत असोजमा वीरगञ्ज महानगर, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपाल प्रा.ली.बीच फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता भएपछि यो परियोजनाको निर्माण कार्य अघि बढाइएको थियो। निजी क्षेत्रको लगानी र सहकार्यमा महानगरको फोहोर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन सहकार्य गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताए।
बुधबार महानगर प्रमुख राजेशमान र सूर्य नेपाल प्रा.लि.का उद्योग प्रमुख सुरेश काजी महर्जन सहितको टोलीले स्थलगत निरीक्षण गरेको छ। उनीहरूले निर्माण कार्यको अवस्था, प्राविधिक पक्ष तथा आगामी दिनमा सञ्चालन प्रक्रियाबारे जानकारी लिएका छन्।
प्लान्ट बनिसकेपछि सूर्य नेपालले वीरगञ्ज महानगरलाई हस्तान्तरण गर्नेछ। महानगरले प्लान्ट सञ्चालन तथा व्यवस्थापन हेर्ने र प्राविधिक जनशक्तिको व्यवस्थापन जिरो वेस्ट इनिसिएटिभ नेपालले गर्नेगरी सम्झौता भएको छ।
महानगर प्रमुख राजेशमानले वीरगञ्जलाई फोहोरमुक्त र हरित सहर बनाउने दीर्घकालीन लक्ष्यअनुसार प्लान्ट निर्माण गरिएको बताए। उनका अनुसार परियोजनाले वीरगञ्जमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि नयाँ अध्यायकोे सुरूआत गर्नेछ।
'अब फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्ने तर्फ महानगर अघि बढ्दैछ,' उनले भने।
वीरगञ्ज महानगरले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको छ। सहरका सडक, चोक तथा सार्वजनिक स्थलहरूमा जथाभावी फोहोर गर्नेलाई दण्ड जरिवाना गर्ने गरेको छ। फोहोर संकलन तथा व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउन एन के इन्टरनेसनलसँग सहकार्य गर्दै आइरहेको छ।
सूर्य नेपाल प्रा.लि.का उद्योग प्रमुख सुरेश काजी महर्जनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वीरगञ्जको सरसफाइमा लगानी गरेको बताए।