मकवानपुरमा प्रहरीमाथि नै आक्रमण भएपछि गोली चलेको छ।
बुधबार बेलुकी ८ बजे मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवन र झैझगडा भइरहेको भन्ने सूचनापछि खटिएको प्रहरीमाथि नै आक्रमण भएपछि गोली चलेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी पुष्कर बोगटीका अनुसार झैझगडाको सूचनापछि प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको नेतृत्वमा टोली खटिएको थियो।
घटनास्थल पुगेर सोधपुछ गर्दा प्रहरी सहायक निरीक्षक तामाङमाथि बियर बोत्तल , खुकुरी र बन्चरो प्रहार भएको थियो।
त्यसपछि उनले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाएको र उक्त गोली हेटौंडा उपमहानगरपालिका-१२ हात्तीगौडा बस्ने १९ वर्षीय सनिस तितुङको पेटमा लागेको थियो।
घटनामा प्रहरी सहायक निरीक्षक तामाङ र तितुङ मध्यम घाइते भएको र उनीहरूलाई सिएमसी चुरेहिल अस्पताल मकवानपुर लगिएको छ।
घटनापछि डिएसपी बोगटीको कमाण्डमा थप टोली खटिएको थियो।
उक्त टोलीले घटनामा संलग्न थप दुई जना; हेटौंडा-१२ रमनटारका २४ वर्षीय सन्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ।
उनीहरू दुई जना र गोली लागेर घाइते भएकासहित तीनै जनाको पृष्ठभूमि आपराधिक गतिविधिमा संलग्न, लागुऔषध, ज्यान मार्ने उद्योग र चोरीमा पनि संलग्न रहेको देखिएको डिएसपी बोगटीले जानकारी दिए।