अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले नेपाली औषधि उद्योगहरूलाई ‘म्यासिभ प्रोडक्सन’ (व्यापक उत्पादन) तर्फ लाग्न र देशलाई औषधिमा आत्मनिर्भर बनाउन आग्रह गरेकी छन्।
नेपालमा औषधि उद्योगको धेरै विकास भए पनि अझै थुप्रै काम गर्न बाँकी रहेको भन्दै उनले सरकारले यस क्षेत्रलाई आक्रामक रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
फार्मा एक्स्पोलाई सम्बोधन गर्दै मन्त्री गौतमले नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइन्।
हाल नेपालमा करिब ८८ वटा औषधि उत्पादक कम्पनीहरू रहेको र तीमध्ये ५० वटाले विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (डब्लुएचओ जिएमपी) प्रमाणपत्र पाएको बताइन्। उनले यसलाई अझै परिष्कृत गर्नुपर्ने बताइन्।
आफू विगतमा स्वास्थ्य सचिव हुँदा पनि औषधि उत्पादक संघ (एपोन) लगायतका संस्थाहरूलाई उत्पादन बढाउन आग्रह गरेको स्मरण गर्दै उनले उद्योगहरू ‘अन्डर प्रोडक्सन’ (कम उत्पादन) मा बस्न नहुने बताइन्।
मन्त्री भएर आउनासाथै आफूले एपोन, एनसिडिए लगायतका सरोकारवाला निकायलाई बोलाएर छलफल गरेको र उद्योगीका समस्या समाधान गर्न सरकार तयार रहेको उनले बताइन्।
उनले भनिन्, ‘जिएमपी सर्टिफाइड भनेको कस्तो हो भनेर मैले बुझ्दा एक जनाले मलाई एसइई पास गरेजस्तै हो भन्नुभयो। कोही ‘जस्ट पास’ हुन्छन्, कोही ‘डिस्टिङ्सन’ ल्याएर पास हुन्छन्। हाम्रा उद्योगहरू डब्लुएचओ जिएमपी त छन्, तर अब ती ‘जस्ट पास’ मात्रै भएर भएन, तिनलाई ‘डिस्टिङ्सन’ को लेभलमा कसरी पुर्याउने भन्ने मुख्य कुरा हो। तपाईंहरूको उद्योग किन यति कम उत्पादनमा बस्ने? म्यासिभ प्रोडक्सन गर्नुपर्छ, स्वदेशी उद्योगहरू आत्मनिर्भर बन्नुपर्छ।’
उनले नेपालका केही निजी क्षेत्रका प्रयोगशालाहरू ‘स्टेट अफ द आर्ट’ (अत्याधुनिक र उत्कृष्ट) रहेको भन्दै प्रशंसा समेत गरिन्।
निजी क्षेत्रले गरिरहेको राम्रो कामलाई सरकारले नीतिगत रूपमै संरक्षण गर्ने र गुणस्तरमा कुनै सम्झौता नगरी अगाडि बढ्ने मन्त्री गौतमको भनाइ छ। —न्युज एजेन्सी नेपाल