अनुचित लेनदेन गरी मिटरब्याज लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्याङ्जाको हरिनास गाउँपालिकाकी ५३ वर्षीया शान्ति तिवारीलाई पक्राउ गरेको हो।
उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको परिसरका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
परिसरमा तिवारीविरूद्ध अनुचित लेनदेन गरेको आरोपमा पाँच वटा जाहेरी परेको छ।
कबिता सुब्बाले १७ लाख रुपैयाँ लिएकोमा तिवारीले ३१ लाख रुपैयाँ फिर्ता मागेको आरोप छ।
दिनेश खड्काले १५ लाख लिँदा २८ लाख रुपैयाँ फिर्ता मागेको, पवित्रा घलेले दुई लाख लिँदा तीन लाख रुपैयाँ फिर्ता मागेको, नविना शाहीले १२ लाख लिँदा १४ लाख फिर्ता मागेको, र दुर्गा हमालले ११ लाख लिँदा फिर्ता भने २८ लाख मागेको आरोप छ।
उनीमाथि अनुसन्धानका लागि शुक्रबार अदालतमा पेस गर्ने तयारी छ।