पोखराको फेवातालमाथि रानीवनमा डढेलो लागेको छ।
सोमबार दिउँसो अचानक वनमा डढेलो फैलिएको देखिएपछि सम्बन्धित निकायलाई खबर गरेर नियन्त्रणमा लिएको व्यवसायी नरेश भट्टराईले बताए।
‘फेवातालमाथि डढेलो लागेको देखिएपछि हामीले सुरक्षा निकायलाई खबर गरेर नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘डढेलो लगाउने को रहेछ भनेर खोजबिन गरी कारबाही हुनुपर्छ।’
फेवातालमाथि रहेको रानीवनको १६५ हेक्टर वनलाई जैविक विविधता पार्क बनाएर संरक्षण गरिँदै आएको छ।
पार्कका प्रमुख धर्म कोइरालाका अनुसार वनमा लागेको डढेलो करिब डेढ घण्टामा नियन्त्रणमा लिइएको छ।
वनमा रहेको सोत्तरमा आगो लागेको र सुरक्षा निकाय, जिल्ला बन कार्यालय लगायतसँग सहकार्य गरेर तत्काल नियन्त्रणमा लिन सकेको उनले बताए ।
‘रानीवनमा लागेको डढेलो सुरक्षा निकायसँगको हातेमालोमा तत्काल नियन्त्रणमा लियौं, धेरै ठुलो क्षति हुन पाएन,’ कोइरालाले भने, ‘कसरी डढेलो लाग्यो भनेर अहिलेसम्म यकिन भएको छैन।’