अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको चौरजहारी नगरपालिकाको मेयर पुष्प वादीसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
करार सेवा नवीकरण/म्याद थप गर्न १ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले लिने र दिनेविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
मेयरसहित २ जनाविरूद्ध घुस लिएको आरोप छ।
मेयरले आर्थिक वर्ष २०७९/०८० मा करार म्याद थप गरिदिन कर्मचारी मोहन शाहसँग १ लाख रूपैयाँ घुस लिएको पाइएको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनका अनुसार मोहन सब-इन्जिनियर हुन्। उनी लामोसमयदेखि करारमा काम गर्दै आइरहेका थिए।
मोहनले २०८० साउन ८ गते मेयर पुष्पको बैंक खातामा पैसा जम्मा गरिदिएको प्रमाणसमेत फेला परेको उनको भनाइ छ।दोस्रो पटक पनि म्याद थप गर्न पैसा मागेपछि यो घटना बाहिर आएको उनले बताए।
पुन: म्याद थप गरिदिन कर्मचारी मोहनले मेयर पुष्पलाई भनेका थिए। उनले फेरि १ लाख रूपैयाँ मागेको र बुझाउन नसकेपछि सेवाबाट हटाइएको अनुसन्धानमा खुलेको अख्तियारको भनाइ छ।
मेयरले आफ्नो पदको दुरूपयोग गर्दै सेवामा निरन्तरता दिलाइदिने नाममा घुस लिएको र घुस दिएको आरोपमा दुवैविरूद्ध भ्रष्टाचार मुद्दामा दर्ता गरिएको छ।
उनीहरूविरूद्ध १ लाख कसुर बिगो र कैद माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
पुष्प २०७९ को स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट मेयर निर्वाचित भएका थिए।