ट्राभल एजेन्सीको नाममा करोडौं रकम ठगेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रीटेल होलिडेज प्रालिका ७ जनालाई पक्राउ गरेको हो।
एसपी मनोहर भट्टका अनुसार उनीहरूमाथि सर्वसाधरणलाई युरोप, एसिया, अफ्रिका लगायत १७५ देशमा भ्रमणमा जान ट्राभल लट्री परेको भन्दै झुक्याएर ठगेको आरोप छ।
ट्राभल लट्री परेको भन्दै सस्तोमा भ्रमण गराउने नाममा रकम लिएर सम्पर्कबिहीन भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।
सप्तरी घर भई भक्तपुर बस्ने विवेक रेग्मी, हुसेन सैयद, भारतका साजिद ओमर सैयद, महम्मद इमरान, मिर खालिद हुसेन, रजाक महम्मद र समादा गिरी पक्राउ परेका हुन्।
उनीहरूबाट प्रहरीले ७ लाख नगद, ल्यापटप, कम्युटर लगायत कागजात बरामद गरेको छ।
उनीहरूले ३२८ जना पीडितबाट २ करोड ७२ लाख ६५ हजार ५७४ रुपैयाँ ठगेको आरोप छ।
विवेक रेग्मीले श्रीतेल होलिडेज प्रालि २०८२ कात्तिक १७ गते खोलेका थिए।
उक्त कम्पनीमा ३० जना कर्मचारी राखेका थिए।
लट्री अफरमा सहभागी गराउन भाटभटेनी, लबिम मल, सिभिल मल लगायत विभिन्न स्थानमा स्टल राखेर फराम भराउने र त्यसमा उपलब्ध गराउने नम्बरमा सम्पर्क गरी बोलाउने गरेको अनुसन्धानमा देखिएको छ।
होलिडेज प्याकेज लट्री परेको भन्दै रकम लिएर ठगेको आरोप उनीहरूमाथि लागेको हो।
थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाउने तयारी छ।