बचतकर्ताको एक करोड ६५ लाख रकम हिनामिना गरेको आरोपमा कपिलवस्तुमा बैंकका एक जना कर्मचारी पक्राउ परेका छन्।
कपिलवस्तुको तौलिहास्थित नेपाल इन्भेष्टमेन्ट मेघा बैंक (एनआइएमबी) का कर्मचारी म्यासेन्जर २८ वर्षीय ऋषम कार्की पक्राउ परेका हुन्।
कपिलवस्तु नगरपालिका–३ अदालतटोलका बैंकका कर्मचारी कार्कीलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले चैत ११ गते मायादेवी गाउँपालिका–१ पकडीबाट पक्राउ गरेको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार एनआइएमबी बैंकको तर्फबाट म्यासेन्जर कार्कीविरूद्ध प्रहरीमा चैत ९ गते किटानी जाहेरी परेको थियो। जसमा बचतकर्ताको ठूलो धनराशी आफूखुसी हिनामिना गरेको उल्लेख थियो।
बैंकका कर्मचारी म्यासेन्जर कार्कीले विभिन्न समयमा बैंकिङ प्रणालीभित्र प्रवेश गरी १६ जना ग्राहकका मोबाइल नम्बर परिवर्तन गरी आफूले प्रयोग गर्ने मोबाइल नम्बर उक्त खातामा प्रयोग गरी मोबाइल बैंकिङको ट्रान्जेक्सन अलर्ट समेत नहुने गरी व्यवस्थापन गरेका थिए।
डिएसपी सिंहका अनुसार कर्मचारी कार्कीले बैंकिङ प्रणालीभित्र प्रवेश गरी आफ्नै मोबाइल नम्बर राखेर मोबाइल बैंकिङको ट्रान्जेक्सन अलर्ट समेत आफैलाई आउने बनाएको पाइएको हो।
‘बैंकिङ प्रणालीभित्र प्रवेश गरी गलत तरिकाले त्यसलाई प्रयोग गर्दै विभिन्न बचतकर्ताको रकम हिनामिना गरेको खुल्यो,’ डिएसपी सिंहले भने, ‘हालसम्म १६ जनाको रकम त्यसरी हिनामिना गरेको पुष्टि भएको छ भने थप अनुसन्धान हुन बाँकी छ।’
बैंकका कर्मचारी कार्कीले विगत दुई वर्षयता मोबाइल बैंकिङ तथा कनेक्ट आइपिएसमार्फत् बचतकर्ताको रकम आफ्नो खातामा ट्रान्सफर गर्दै आएको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी सिंहले जानकारी दिए।
त्यसो गर्दा म्यासेन्जर कार्कीले थप दुई जना कर्मचारीका आइडी र पासवर्ड प्रयोग गरेको पाइएको पनि डिएसपी सिंहले जानकारी दिए।
‘आफ्नै सिनियर स्टाफहरूको भरोसा जितेर उनीहरूको समेत आइडी र पासवर्ड प्रयोग गरी बैंकिङ प्रणालीमा प्रवेश गरेर ग्राहकको रकम अनधिकृत रूपमा आफ्नो खातामा पठाउने गरेको तथ्य खुल्छ,’ डिएसपी सिंहले भने।
एउटै मोबाइल नम्बर विभिन्न १६ वटा ठाउँमा प्रयोग भएको फेला परेपछि बैंकको केन्द्रीय कार्यालयले सुरूमा आफैले यो घटना आन्तरिक रूपमा अनुसन्धान गरेको थियो।
आन्तरिक अनुसन्धानबाट कर्मचारी कार्कीले विभिन्न समयमा विभिन्न बचतकर्ताको एक करोड ६५ लाख रकम हिनामिना गरेको तथ्य फेला परेपछि बैंकको तर्फबाट आफ्नै कर्मचारीविरूद्ध प्रहरीमा उजुरी दिएको थियो।
रकम हिनामिना प्रकरणबाट थप अनुसन्धान जारी रहेको तथा कार्कीमाथि थप अनुसन्धान गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत १६ गते ७ दिनको म्याद थप दिएको डिएसपी सिंहले जानकारी दिए।