इतिहासको पाना पल्टाउँदै जाने हो भने केही यस्ता घटना भेटिन्छन्, जुन आज पढ्दा वा सुन्दा पनि हामीलाई रोचक लाग्छन्।
कुनै घटनाले आश्चर्यचकित बनाउँछन्, कुनैले हँसाउँछन्।
कुनै घटना त यस्ता हुन्छन्, जसको कल्पना गर्दा पनि आङ सिरिंग हुन्छ।
आज हामी तपाईंलाई इतिहासको त्यस्तै एउटा अनौठो घटना सुनाउँदै छौं।
यो घटना हो, आजभन्दा २१२ वर्षअघिको।
सन् १८१४ अक्टोबर १७।
ठाउँ हो, बेलायतको राजधानी लन्डन।
त्यस दिन लन्डनमा एउटा यस्तो बाढी आयो, जसको न कुनै नदीसँग सम्बन्ध थियो, न वर्षासँग।
त्यो बाढी पानीको थिएन।
बियरको थियो!
हो, तपाईंले ठिक पढ्नुभयो। लन्डनका सडकमा त्यस दिन बियरको बाढी आएको थियो। त्यो पनि यस्तो बाढी, जसले घरका पर्खाल भत्कायो, मानिसहरूलाई पुर्यो र आठ जनाको ज्यान लियो।
तर यो घटनाको सबभन्दा अनौठो कुरा बियरको बाढी आउनु मात्रै होइन।
त्यो बाढीमा मानिसहरूको ज्यान गयो। परिवार उजाडिए। दुर्घटनापछि बियर उत्पादन गर्ने कारखानाले कर छुट पायो। मृतकका परिवारलाई भने कारखानाले कानुनी क्षतिपूर्तिसम्म तिर्नुपरेन।
आखिर लन्डनमा बियरको बाढी कसरी आयो?
र, आठ जनाको ज्यान गएको दुर्घटनामा कारखानाले कर छुट कसरी पायो?
यो जान्न हामी आजभन्दा २१२ वर्षअघिको लन्डनतिर लागौं।
त्यति बेलाको लन्डन अहिले जस्तो थिएन।
औद्योगिक क्रान्तिले बेलायतको उत्पादन र व्यापार विस्तार गरिरहेको थियो। ठूला कारखाना खुलिरहेका थिए। सहरमा कामको खोजीमा आउने मानिसको संख्या बढिरहेको थियो।
लन्डनका कारखानामध्ये एउटा उद्योग थियो — बियर उत्पादन।
सहरमा 'पोर्टर' भनिने गाढा रङको बियर लोकप्रिय थियो। बियर उत्पादन गर्ने कम्पनीहरू ठूला भण्डारण ट्यांकी बनाउने र ठूलो परिमाणमा उत्पादन गर्ने प्रतिस्पर्धामा थिए।
लन्डनको सेन्ट जाइल्स क्षेत्रमा पनि एउटा ठूलो बियर कारखाना थियो।
नाम थियो, हर्स सु ब्रुअरी (Horse Shoe Brewery)।
यसलाई हेनरी म्युक्स एन्ड कम्पनीले सञ्चालन गर्थ्यो।
सेन्ट जाइल्सको यो क्षेत्र धनी मानिस बस्ने ठाउँ थिएन। साँघुरा गल्लीमा श्रमिक र गरिब परिवारका घर थिए। त्यहाँ आयरल्यान्डबाट आएका आप्रवासी परिवारको पनि बाक्लो बसोबास थियो।
कतिपय मानिस घरको भुइँतलाभन्दा तलका कोठामा बस्थे।
कारखानाको विशाल पर्खालको एकातिर बियरका ठूला ट्यांकी थिए। अर्कातिर स–साना घरमा मानिसहरू आफ्नै दैनिकीमा व्यस्त थिए।
कारखानामा जम्मा भइरहेको बियरले केही बेरमै उनीहरूको जीवन तहसनहस पार्नेछ भन्ने कसैले कल्पना गरेको थिएन।
अब हामी त्यो कारखानाभित्र पसौं।
सन् १८१४ अक्टोबर १७, सोमबार।
अपराह्न करिब साढे ४ बजेको थियो।
कारखानाका भण्डार कर्मचारी जर्ज क्रिकले एउटा विशाल काठे ट्यांकीमा केही असामान्य चिज देखे।
ट्यांकीलाई बाँधेर राखेको फलामे घेरा आफ्नो ठाउँबाट खुस्किएको थियो।
त्यो ट्यांकी २२ फिट अग्लो थियो। त्यसमा ३ हजार ५ सय ५५ ब्यारेल बियर राखिएको थियो।
उक्त बियर करिब दस महिनादेखि त्यहाँ भण्डारण गरिएको थियो।
कल्पना गर्नुस् त, दुईतले घरजत्रो उचाइ भएको एउटा विशाल काठे भाँडो!
त्यसलाई बाहिरबाट फलामका ठूला घेराले कसिएको थियो। त्यसमध्ये एउटा घेरा खुस्किएको थियो।
तर जर्ज क्रिक आत्तिएनन्।
किनभने, यसअघि पनि बेलाबेला फलामका घेरा खुस्किने गरेका थिए। त्यसरी घेरा खुस्किँदा कुनै ठूलो दुर्घटना भएको थिएन।
उनले यसबारे कारखानाका साझेदार फ्लोरेन्स यङलाई जानकारी गराउन पत्र लेखे।
यङ बियर भण्डारण गर्ने ठूला भाँडाको निर्माण र मर्मतसम्बन्धी काम पनि हेर्थे।
घेरा मर्मत गर्ने व्यवस्था मिलाउनुपर्ने थियो। तर त्यसअघि नै दुर्घटना भयो।
साँझ करिब साढे ५ बजे अचानक ठूलो आवाज आयो।
त्यो विशाल ट्यांकी फुटेको आवाज थियो। त्यसबाट निस्केको बियरको शक्तिशाली प्रवाहले कारखानाका अरू भाँडामा पनि क्षति पुर्यायो।
एउटा अर्को ठूलो ट्यांकीको बियर निकाल्ने धारा भाँचियो। त्यसबाट पनि बियर निस्कन थाल्यो। कारखानाका थप केही भाँडा फुटे। अनि ठूलो परिमाणमा जम्मा भएको बियरले बाहिर निस्कने बाटो पायो।
त्यसको वेगले कारखानाको पछाडिपट्टिको अग्लो इँटाको पर्खाल नै भत्काइदियो।
त्यसपछि बियर सडकमा बग्न थाल्यो।
यो बियर पोखिएको सामान्य घटना मात्र थिएन।
यो त बियरको बाढी थियो।
दुर्घटनापछि कति बियर बाहिर निस्कियो होला?
यसको उत्तर पनि कम रोचक छैन।
जर्ज क्रिकले छानबिनमा दिएको बयानमा कारखानाले करिब ८ देखि ९ हजार ब्यारेल बियर गुमाएको प्रारम्भिक अनुमान थियो।
पछि गरिएको हिसाबमा नष्ट भएको बियर ७ हजार ६६४ ब्यारेल रहेको देखाइएको छ।
त्यति बेला बेलायतमा प्रयोग हुने एउटा बियर ब्यारेल करिब १६४ लिटर बराबर थियो।
त्यस हिसाबले ७ हजार ६६४ ब्यारेल भनेको करिब साढे १२ लाख लिटर बियर हो।
यद्यपि नष्ट भएको बियरको सबै परिमाण सडकमा पुगेको थिएन। केही कारखानाभित्रै पोखिएको थियो।
अब कल्पना गर्नुस्, ठूलो परिमाणको बियरको बाढी एउटा साँघुरो बस्तीमा एकैपटक पस्दा के होला!
सेन्ट जाइल्समा त्यही भयो।
बियरले कारखानाको पर्खाल भत्कायो। नजिकका घरमा ठक्कर दियो। कतै घरका पछाडिका पर्खाल खसे, कतै कोठाहरूमा बियर भरियो।
भुइँतलाभन्दा तल रहेका कोठामा बियर पस्दा त्यहाँका मानिसलाई ज्यान जोगाउन कठिन भयो। कतिपय मानिस फर्निचरमाथि चढेर जोगिन खोजे।
दुर्घटनाको सबभन्दा ठूलो क्षति न्यू स्ट्रिट क्षेत्रमा भयो। त्यहाँका दुई घर पूर्ण रूपमा भत्किए। अरू घरमा पनि ठूलो क्षति पुग्यो।
र, त्यहीँबाट सुरू भयो आठ जनाको मृत्युको दर्दनाक कथा।
चार वर्षीया हाना ब्यानफिल्ड आफ्नी आमा मेरीसँग घरमा थिइन्। उनीहरू चिया खाइरहेका थिए।
त्यही बेला बियरको शक्तिशाली बाढी उनीहरूको घरमा पस्यो। बियरको वेगले मेरीलाई बाहिर हुत्यायो। उनी घाइते भइन्। तर सानी हानाले ज्यान जोगाउन सकिनन्।
दुर्घटनापछि भएको छानबिनमा हानाको उमेर चार वर्ष चार महिना उल्लेख छ।
अर्की तीन वर्ष पाँच महिनाकी बालिका सारा बेट्सको पनि मृत्यु भयो।
त्यही क्षेत्रको ट्याभिस्टक आर्म्स नामको मदिरा पसलमा काम गर्ने १४ वर्षीया एलेनर कुपर पनि दुर्घटनामा परिन्। दुर्घटना हुँदा उनी पसलको पछाडिपट्टि भाँडा माझिरहेकी थिइन्। कारखानाको पर्खाल भत्किएर उनीमाथि खसेको थियो।
उद्धारकर्ताले करिब तीन घन्टापछि उनलाई भग्नावशेषबाट निकालेका थिए। तर त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो।
यी तीन जनाको मृत्यु नै एउटा ठूलो त्रासदी थियो।
तर अर्को घरमा भएको घटना झन् हृदयविदारक थियो।
सेन्ट जाइल्सकै एउटा घरमा दुई वर्षीय बालक जोन सेभिलको अघिल्लो दिन मृत्यु भएको थियो। त्यसैले सोमबार परिवारका सदस्य र आफन्तहरू जोनको शव राखिएको घरमा शोक मनाउन भेला भएका थिए।
दुई वर्षको बच्चा गुमाएको परिवारको अवस्था कस्तो होला!
त्यही शोकको घडीमा उनीहरूको घरमा अर्को विपत्ति आयो।
कारखानाबाट आएको बियरको बाढी घरभित्र पस्यो। घरको संरचना भत्कियो। त्यहाँ शोक मनाउन भेला भएका पाँच जनाको मृत्यु भयो।
मृत्यु हुनेमा जोनकी आमा ६० वर्षीया एन सेभिल पनि थिइन्।
त्यस्तै, ३० वर्षीया मेरी मल्भी, उनका तीन वर्षीय छोरा थोमस मरी, २७ वर्षीया एलिजाबेथ स्मिथ र करिब ६५ वर्षीया क्याथरिन बटलरको पनि ज्यान गयो।
लन्डनमा बियरको बाढीले पारेको सबभन्दा मार्मिक चोट यही थियो।
यसरी दुर्घटनाबाट मृत्यु हुनेको कुल संख्या आठ पुग्यो। तीमध्ये तीन जना साना बालबालिका थिए। एक जना किशोरी थिइन्। बाँकी चार जना महिला थिए।
बियरको बाढी सुन्दा आज हामीलाई अनौठो लाग्छ। तर त्यो साँझ सेन्ट जाइल्सका गरिब परिवारका लागि कुनै अनौठो मनोरञ्जन थिएन।
त्यो एउटा विनाशकारी दुर्घटना थियो।
दुर्घटनापछि उद्धारकर्ताहरू भग्नावशेषमा पुरिएका मानिस खोज्न थाले। तत्कालीन अखबारहरूका अनुसार भग्नावशेषभित्र कोही जीवित छन् कि भनेर उनीहरूको आवाज सुन्न उद्धारमा संलग्न मानिसले वरपर शान्त रहन आग्रह गरेका थिए।
कारखानाका कर्मचारी पनि घाइते भएका थिए।
बियरको बाढीमा मानिस मात्र होइन, इँटा, काठ र भाँडाका टुक्रा मिसिएका थिए।
दुर्घटनाको दुई दिनपछि छानबिनकर्ताहरू घटनास्थल पुगे। मृतकका शव हेरे। त्यसपछि प्रत्यक्षदर्शी र कारखानाका कर्मचारीको बयान लिए।
जर्ज क्रिकले पनि आफूले देखेको घटना सुनाए।
उनले ट्यांकीको फलामे घेरा पहिले पनि खुस्किने गरेको र त्यसले कुनै ठूलो दुर्घटना नगरेको बताए।
ट्यांकी फुट्नुको सम्भावित कारणबारे उनले फलामे घेरालाई जोड्ने भाग खुस्किएको हुन सक्ने अनुमान प्रस्तुत गरे। तर यो निश्चित प्राविधिक निष्कर्ष थिएन।
छानबिनपछि निर्णायकहरूले आठ जनाको मृत्यु दुर्घटनावश र दुर्भाग्यका कारण भएको ठहर गरे।
कारखानामाथि मृतकका परिवारलाई क्षतिपूर्ति तिर्नुपर्ने कानुनी दायित्व तोकिएन।
आजको औद्योगिक सुरक्षा र नागरिक अधिकारको दृष्टिबाट हेर्दा यो निष्कर्षमाथि धेरै प्रश्न उठ्न सक्छन्।
विशेष गरी एउटा फलामे घेरा खुस्किएको थाहा हुँदाहुँदै विशाल ट्यांकी सञ्चालन भइरहनु कति सुरक्षित थियो? तर त्यति बेलाको छानबिनले कारखानालाई कानुनी रूपमा जिम्मेवार ठहर गरेन।
अब यो कथाको अर्को अनौठो प्रसंगतिर जाऔं।
कारखानाबाट बगेको बियरले आठ जनाको ज्यान लियो। तर त्यसले कारखानालाई पनि ठूलो आर्थिक क्षति पुर्याएको थियो।
हजारौं ब्यारेल बियर नष्ट भएको थियो। भण्डारण संरचना भत्किएको थियो।
कारखानाले आफ्नो कुल आर्थिक क्षति कम्तिमा २३ हजार पाउन्ड रहेको हिसाब प्रस्तुत गर्यो।
त्यति बेला बेलायतमा बियर उत्पादनसँग सम्बन्धित अन्तःशुल्क तिर्नुपर्थ्यो।
कारखानाले नष्ट भएको बियर र त्यसमा प्रयोग भएका कच्चा पदार्थमा तिरेको करसम्बन्धी राहत माग्यो। त्यसका लागि संसदसमक्ष निवेदन दिइयो।
अनि अर्को वर्ष, सन् १८१५ मा बेलायती संसदले हेनरी म्युक्स एन्ड कम्पनीलाई राहत दिने कानुन पारित गर्यो।
त्यस अनुसार नष्ट भएको बियर तथा त्यसमा प्रयोग भएका कच्चा पदार्थमा लाग्ने कर बराबरको रकम छुट हुने गरी कारखानालाई नयाँ बियर उत्पादन गर्न अनुमति दिइयो।
यो राहतको मूल्य करिब ७ हजार २५० पाउन्ड थियो।
अर्थात्, ठूलो दुर्घटनाबाट आर्थिक क्षति बेहोरेको कम्पनीलाई संसदले करसम्बन्धी राहत दियो।
तर दुर्घटनामा ज्यान गुमाएका मानिसका परिवारका लागि कारखानामाथि त्यस्तै क्षतिपूर्ति तिर्नुपर्ने दायित्व लगाइएन।
यसको अर्थ मृतकका परिवारले कसैबाट कुनै आर्थिक सहयोग पाएनन् भन्ने होइन।
स्थानीय बासिन्दा र शुभचिन्तकहरूले उनीहरूका लागि सहयोग संकलन गरेका थिए। दुर्घटनामा मृत्यु भएकाहरूको अन्त्येष्टि र प्रभावित परिवारको सहयोगका लागि चन्दा उठाइएको थियो।
इतिहासकार मार्टिन कर्नेलका अनुसार दुर्घटनापछि स्थानीय धार्मिक तथा सामुदायिक अगुवाहरूले राहत कोषसमेत बनाएका थिए। एक महिनाभित्र त्यसमा आठ सय पाउन्डभन्दा बढी संकलन भएको थियो।
सन् १८१४ को यो अनौठो दुर्घटना केवल बियर बाढीको कथा होइन।
यो तत्कालीन औद्योगिक समाजको सुरक्षा व्यवस्था, गरिब बस्तीको जोखिम र दुर्घटनामा परेका नागरिकको न्यायमा पहुँचको कथा पनि हो।
त्यो दुर्घटनापछि हर्स सु ब्रुअरी तुरून्त बन्द भएन।
त्यो घटनापछि पनि कारखानाले उत्पादन जारी राख्यो।
बियर इतिहासका अनुसन्धानकर्ताहरूका अनुसार यो कारखाना उन्नाइसौं शताब्दीभरि लन्डनको प्रमुख पोर्टर बियर उत्पादकमध्ये एक रह्यो।
सन् १९२१ मा मात्र उसको उत्पादन बन्द भयो। त्यसपछि कारखानाको संरचना भत्काइयो। पछि त्यही ठाउँमा डोमिनियन थिएटर निर्माण भयो।
आज लन्डनमा त्यही क्षेत्र घुम्ने मानिसले दुई सय वर्षअघि त्यहाँ बियरको विशाल ट्यांकी फुटेको कल्पना पनि नगर्न सक्छन्।
त्यो ट्यांकी अब छैन। कारखाना पनि छैन।
तर सन् १८१४ अक्टोबर १७ को घटना इतिहासबाट हराएको छैन।
***