गर्भवती भएपछि बेपत्ता बनाइएको भनिएको सप्तरकी एक १४ वर्षीया बालिकालाई गर्भपतन गराउन भारत पुर्याएको खुलेको छ।
सुरूंगा नगरपालिका-३ का स्थानीय महेश्वर यादवको घरमा बस्दै आएकी १४ वर्षीया बालिका फागुन ३० देखि हराएको भन्दै चैत ४ गते प्रहरीमा निवेदन परेको थियो।
निवेदनपछि बालिकाको खोजतलास क्रममा गर्भपतन गराउन भारत पुर्याएको खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गौतमकुमार केसीले जानकारी दिए।
उनका अनुसार बालिका हराएको निवेदन परेसँगै जिल्ला प्रहरीले भारतका प्रहरीसँग समन्वय गरेर खोजी सुरू गरेको थियो।
खोजतलास क्रममा चैत १२ गते छिन्नमस्ता गाउँपालिकास्थित भारतीय सीमावर्ति सफडा भन्ने ठाउँबाट बालिकालाई उद्धार गरिएको हो। उद्धारपछि बालिकालाई गर्भपतन गराउन भारत पुर्याएको खुलेको एसपी केसीले जानकारी दिए।
'अहिले हामी बालिका काम गर्न बस्ने घरका व्यक्तिहरूलाई खोजिरहेका छौं,' उनले भने।
उद्धारपछि बालिका बस्दै आएको परिवारसहित ४ जना व्यक्तिविरूद्ध गर्भपतन/बलात्कार मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
उनीहरू ४ जनाविरूद्ध जिल्ला अदालतबाट तीन/चार दिनअघि पक्राउ पुर्जी पनि जारी भएको छ। उनीहरूलाई खोज्ने क्रम जारी छ।
'बालिका जुन घरमा बस्थिन्, त्यहाँको परिवारका सदस्य कोही सम्पर्कमा आएका छैनौं। हामीले खोजिरहेका छौं,' उनले भने।
बालिका ७/८ वर्षदेखि महेश्वर यादवको घरमा बस्दै आएकी थिइन्। फागुन ३० देखि सम्पर्कविहीन भएपछि बालिकाकी भाउजू रितादेवी सदाले प्रहरीमा उजुरी दिएकी थिइन्।
उनले नन्दलाई झिकाएर सत्यतत्य अनुसन्धान गरी कानुन बमोजिम आवश्यक कारबाही गर्न माग गरेकी थिइन्।
आमाबुबा नभएकाले बालिकाले लामो समयदेखि यादवको घरमा बसेर काम गरिरहेकी थिइन्। त्यसले नाबालिगलाई मजदुरी लगाएको अभियोगमा पनि अनुसन्धान भइरहेको एसपी केसीले जानकारी दिए।
'हामीले यो घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेका छौं,' उनले भने।
यो पनि: