संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते भएका छन्।
अमेरिका र इसराइलले इरानमा हमला गरेपछि इरानले खाडी मुलुकमा रहेको अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरेर ड्रोन र मिसाइल हमला गर्दै आइरहेको छ।
शुक्रबार आबुधाबीको अज्बान क्षेत्रमा भएको मिसाइल र ड्रोनलाई त्यहाँको हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरे पनि त्यसको अवशेष खस्दा १२ जना घाइते भएको गल्फ न्युजले जनाएको छ।
घटनामा ७ जना नेपाली र ६ जना भारतीय नागरिक रहेका छन्। ७ नेपालीमध्ये एक जनाको अवस्था गम्भीर रहेको पनि युएईको रक्षा मन्त्रालयलाई उद्धृत गरेर गल्फ न्युजले लेखेको छ।
घाइतेहरुको परिचय खुलाइएको छैन।
यूएईको हवाई प्रतिरक्षा प्रणालीले मिसाइल तथा ड्रोन आक्रमणलाई सफलतापूर्वक निष्क्रिय पारेपछि त्यसका टुक्रा विभिन्न स्थानमा खसेका थिए।
घटनापछि उद्धार टोली तुरुन्तै परिचालन गरिएको थियो।
प्रभावित क्षेत्र सुरक्षित बनाउँदै घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको अधिकारीहरूले बताएका छन्।
यसैबीच, हब्सान ग्यास सुविधास्थलमा पनि अवशेष खस्दा आगलागी भएको थियो।
आगो नियन्त्रणमा लिन अस्थायी रूपमा सञ्चालन रोकिए पनि उक्त स्थानमा भने कुनै मानवीय क्षति भएको छैन।
रक्षा मन्त्रालयले वायु रक्षा प्रणालीले मिसाइल र ड्रोन खतरालाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ। केही क्षेत्रमा सुनिएको आवाज पनि यही सुरक्षा कारबाहीसँग सम्बन्धित रहेको बताइएको छ।