खैरो र सेतो प्वाँख सपक्क समेटिएर बनेको चिल्लो शरीर। लामो घाँटी र अग्लो खुट्टा। रातो र कालो टाउकोमा लामो ठुँड।
सरर हेर्दा सारसको पहिचान यही हो।
तर यति मात्र होइन। शान्ति र प्रेमको प्रतीक मानिने सारसलाई गौतम बुद्धको जीवनसँग समेत जोडिएको पाइन्छ।
किम्बदन्ती अनुसार गौतम बुद्धका दाइ देवदत्तले प्रहार गरेको वाण लागेर घाइते भएको सारसलाई उपचार गरेर सिद्धार्थ गौतमले जीवनदान दिएका थिए।
घाइते पन्छीको प्राण बचाएकै कारण बुद्धको जीवनसँग जोडिएका नवलपरासी, रूपन्देही र कपिलवस्तुका सिमसार क्षेत्रमा सारसको मुख्य बासस्थान भएको विश्वास पनि गरिन्छ।
जोडी र बथानमा बस्न रूचाउने सारस हेर्न केही वर्ष पहिलेसम्म लुम्बिनी विकास कोषभित्रको संरक्षित क्षेत्रमा घन्टौं पर्खिनुपर्थ्यो। अहिले विकास कोषभित्र मात्र होइन, वरिपरिका खेत र सिमसार क्षेत्रमा सारस चरिरहेका र खेलिरहेका देख्न सकिन्छ।
दुर्लभ पन्छीमध्येको सारसका लागि लुम्बिनी आसपास स्थायी बसोबास क्षेत्र हो। यहाँबाहेक रूपन्देहीकै सियारी, मायादेवी, गैंडहवा, मर्चवार लगायत क्षेत्रमा सिमसार र खेतका फाँटमा सारसका बथानै चरिरहेका भेटिन्छन्।
वर्षामा धान रोपेका हरिया फाँट तथा हिउँदमा गहुँ र तोरीबारीमा प्रयाप्त चरिरहेका भेटिने सारसका जोडी अहिले सुख्खा खेतमा पनि आहारा खोजिरहेका भेटिन्छन्।
धान, तोरी, गहुँ खेतीमा लाग्ने फट्यांग्रा, झुसिलकीरा, पतेरासँगै गड्यौंला, भ्यागुता, शंखेकीरा र सिमसारमा उम्रिएका कमला वनस्पति, सारसले मन पराउने आहारा हुन्।
सिमसार क्षेत्रसँगै खेतीयोग्य जमिन भएकाले लुम्बिनी आसपास क्षेत्रमा सारस चरणका लागि पर्याप्त छ। कीरा खाइदिने भएपछि खेती पनि राम्रो हुने किसानहरू बताउँछन्।

त्यस्तै सर्प पनि खाने भएकाले सारस बस्ने वरिपरि सर्प आउने र टोक्ने डर हुँदैन। त्यसैले सारसलाई किसानले साथीका रूपमा लिन थालेका छन्।
किसानहरूले सारसको महत्व बुझ्न थालेपछि यिनको संरक्षणमा लाग्न थालेका छन्। पहिले खेतबारीमा आउँदा लखेट्ने बालबालिकाले पनि अहिले सारस खेतमा चरिरहेको हेरेर रमाइलो मान्छन्।
चराविदहरूका अनुसार सारस समूहमै बस्ने र चरणमा जाने भए पनि यिनीहरू आहारका लागि झगडा गर्दैनन्। आफ्नो नजिक कुनै खतरा संकेत देखियो भने कराएर अरूलाई पनि जानकारी दिन्छ। समूहका सबै जम्मा भएपछि उड्छन्।
खतराबाट जोगिन सारसले सिमसार, पोखरी वा तालका बीच घाँसपात जम्मा गरी गुँड बनाएर अन्डा पार्छ र ओथारो बस्छ। गुँडनजिक कुकुर, स्याल, मुसा गएको देखे जोडी मिलेर लखेट्छन्।
सारसको बासस्थान, उनीहरूको रहनसहन र प्रेमालाप अध्ययन तथा अवलोकन गर्न विभिन्न देशका चराविद तथा पर्यटक लुम्बिनी र कपिलवस्तु क्षेत्रमा आउँछन्।
उड्न सक्ने चरामध्ये सबभन्दा अग्लो सारसले भुइँमै घाँसको झाडीमा अन्डा पार्छ र ओथारो बस्छ। विशेषगरी वर्षायाममा अन्डा पार्छ र एक महिनासम्म ओथारो बसी बच्चा कोरल्छ।
चल्ला कोरलेपछि पाँच–छ महिना माउसँगै बस्छन्। त्यसपछि समूहमा गई जोडी बनाएर बस्छन्।
चराविद हेमसागर बरालका अनुसार सन् २०१६ को अनुमानित सर्भेमा नेपालमा साढे चार सयदेखि सात सय हाराहारी सारस भएको तथ्यांक थियो। यहाँ भएकामध्ये ८० देखि ९० प्रतिशत सारस लुम्बिनी क्षेत्र (नवलपरासी, रूपन्देही र कपिलवस्तु) मा मात्रै छन्।
आइयुसिएनले सन् २००५ मा गरेको गणनामा लुम्बिनी क्षेत्रमा मात्र दुई सय जोडी सारस थिए।
यी जिल्लाका दक्षिणी क्षेत्रमा पर्याप्त सिमसार छ। सिमसार क्षेत्रमै गुँड बनाउने, अन्डा पार्ने, बच्चा कोरल्ने र त्यहीँ पाइने कीराफट्यांग्रा र वनस्पतिका जरा खान मनपराउने भएकाले यो क्षेत्र सारसका लागि उपयुक्त रहेको बराल बताउँछन्।

'सारसले आफ्नो जीवनकालमा एउटा मात्र साथी बनाउँछ। यसरी बनाएको जोडी कहिल्यै परिवर्तन गर्दैन। यतिसम्म कि कारणवश जोडीमध्ये एकको मृत्यु भयो भने अर्को साथी नबनाई प्राण त्याग्छ,' उनले भने।
विश्वमै दुर्लभ मानिएका सारसको चोरी–सिकारी, प्राकृतिक रूपमा भइरहेको वासस्थान विनास, खेतबारीमा प्रयोग गरिने विषादी, विद्युतीय नांगा तार, संरक्षित क्षेत्रमा मानिसको धेरै आवतजावत तथा औद्योगिक प्रदूषणका कारण सारसको जीवन संकटमा परिरहेको छ।
पछिल्ला वर्षमा सिमसार क्षेत्र मासिँदै जाँदा त्यसको प्रत्यक्ष असर कृषि उत्पादन, जीविकोपार्जनसँगै सारस जस्ता दुर्लभ चरामा पनि परेको छ।
ढल तथा प्लास्टिक र सिसाजन्य नकुहिने फोहोर सिमसारमा विसर्जन गर्दा र लुम्बिनी विकास कोषभित्रको संरक्षित जंगलमा बर्सेनि डढेलो लगाइँदा पनि सारसको बासस्थान संकटमा परेको छ।
सारस संरक्षणका लागि लुम्बिनी तथा आसपासमा रहेका प्राकृतिक बासस्थान संरक्षण गर्नु नै पहिलो उपाय भएको बराल बताउँछन्।
सारस संरक्षणका लागि लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र स्थानीय युवा अचेल सक्रियताका साथ लागेका छन्। नगरपालिकाले सारसलाई नगरपंक्षी घोषणा गरिसकेको छ।
लुम्बिनीमा सारस संरक्षणका लागि विश्व वन्यजन्तु कोष, लुम्बिनी विकास कोष, ग्रिन युथ क्लब, लुम्बिनी क्रेन सेन्चुरी, अन्तर्राष्ट्रिय सारस आरक्षण, लुम्बिनी विकास मञ्च लगायतका संस्थाले अभियान चलाएका छन्।

त्यस्तै लुम्बिनी क्षेत्रमा रहेका सामुदायिक तथा निजी विद्यालय तथा मदरसाहरू गरी ३० वटा 'इको' क्लब गठन गरेर बालबालिकालाई सारस संरक्षण अभियानमा सहभागी गराउँदै आएका छन्।
४० देखि ५० फिट उचाइमा उड्न सक्ने सारसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले सन् २००० मा दुर्लभ पन्छीको सूचीमा राखेको थियो।
प्राकृतिक रूपमा रहँदा ३० वर्षभन्दा धेरै बाँच्न सक्ने सारस वयस्क अवस्थामा पुग्दा ५ फिट अग्लो र १० किलोसम्म तौलको हुन्छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सारस मार्ने वा अन्डा नष्ट गर्ने वा व्यापार गर्नेलाई १५ देखि ३० हजारसम्म जरिवाना वा तीनदेखि नौ महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
