मुगु दुर्घटनाकी घाइते एक जना महिलाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ।
ललितपुर महानगरपालिका–१५ की ५४ वर्षीया अन्जु थापाको सोमबार दिउँसो १:५४ बजे काठमाडौंस्थित बिएण्डबी हस्पिटलमा मृत्यु भएको मुगुका प्रहरी प्रमुख डिएसपी रविराज थपलियाले बताए।
योसँगै मुगु दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।
अन्जुका श्रीमान तथा गाडी चालक ५८ वर्षीय कञ्चन थापाको पनि सोही अस्पतालमा उपचार जारी छ।
दुर्घटनाका घाइते श्रीमान–श्रीमतीलाई मुगु जिल्ला अस्पतालबाट थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं पुर्याइएको थियो।
त्यसअघि आइतबार दुर्घटनास्थलमै काठमाडौंका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको डिएसपी थपलियाले जानकारी दिएका थिए।
तीनै जनालाई जिल्ला अस्पताल मुगु पुर्याउनासाथ चेकजाँचपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको जिप आइतबार साँझ पौने ५ बजेतिर छायानाथ रारा नगरपालिकाको–७ टोप्लाथित रारा कच्ची सडकबाट करिब ४ सय मिटर मुनि खसेको थियो।
काठमाडौंबाट मुगुको रारा तालको अवलोकनका लागि गएका चालकसहित पाँच जनामध्ये चार जनाको दुर्घटनामा परी मृत्यु भएको छ।
एक जनाको काठमाडौंमा उपचार जारी छ। डिएसपी थपलियाका अनुसार जिपमा सवार त्यो टोली राराताल पुग्न जम्मा ४ किलोमिटर जति मात्रै बाँकी छँदा पहिरो गएको ठाउँमा सडक भासिएर जिप दुर्घटनामा परेकोे थियो।