जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन याममा अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ।
सामान्यतया जेठ अन्तिम साता (जुन १३ मा) बंगालको खाडी हुँदै नेपालमा मनसुन भित्रने गर्छ र असोजको अन्तिम साता या कात्तिकको पहिलो सातासम्म मनसुन सक्रिय रहन्छ।
विभागले भने जेठ १८ देखि असोज १४ गतेसम्मको अवधिलाई मनसुन ऋतु भन्दै वर्षा र तापक्रमको आकलन गर्ने गरेको छ।
अघिल्लो वर्षको मनसुन याम (२०८२ जेठ १८ देखि असोज १४ गतेसम्म) औसतभन्दा कम अर्थात् ८७.५ प्रतिशत वर्षा भएको थियो। उक्त अवधिमा १२९५.४० मिलिमिटर वर्षा भएको थियो। सामान्यतया नेपालमा मनसुन याममा १४७२ मिलिलिटर औसत वर्षा हुने अनुमान गरिन्छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत जलवायु विज्ञान महाशाखा मातहतको जलवायु विश्लेषण शाखाले आइतबार यस वर्षको मनसुन ऋतुको जलवायु आकलन सार्वजनिक गरेको हो।
महाशाखाका अनुसार कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।
सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको हावापानी विश्लेषण शाखाले जनाएको छ।
त्यसैगरी कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको शाखाको भनाइ छ।
बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।
यी स्थानमा छ सरदरभन्दा बढी तापक्रमको सम्भावना
यस वर्षको मनसुन याममा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेको शाखाले बताएको छ।
यस वर्ष सुदूरपश्चिम प्रदेशका उत्तरपूर्वी भूभाग, कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी भूभाग, गण्डकी प्रदेशका उत्तर–पूर्वी तथा दक्षिणी भूभाग, बागमती प्रदेशका पश्चिमी भूभाग, मधेस प्रदेशका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।
कोशी प्रदेशको मध्य भूभाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। बाँकी भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको शाखाले बताएको छ।
न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी आकलन
यस वर्षको मनसुन याममा देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको शाखाको भनाइ छ।
यस अनुसार सुदूरपश्चिम, कर्णाली, बागमती प्रदेशका उत्तरी भूभागहरू, मधेस प्रदेशका पूर्वी भूभाग, कोशी प्रदेशका दक्षिणी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको शाखाले बताएको छ।
त्यस्तै कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका दक्षिणी भूभागहरू, मधेस प्रदेशका मध्य भूभाग र कोशी प्रदेशका मध्य तथा उत्तरी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको शाखाले बताएको छ। देशका बाँकी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको शाखाको भनाइ छ।
विभागले विश्व मौसम संगठनको विश्वभर रहेका क्षेत्रीय स्तरका जलवायु विश्लेषण गर्ने केन्द्रहरूको विश्लेषणलाई आकलनको आधार बनाउने गरेको छ।
त्यस्तै साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरम (साकोफ) को आकलनलाई पनि ऋतुगत आकलनको आधार बनाउने गरेको छ।
शाखाले नेपालको मनसुन याममा जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो, साउथर्न ओसिलेसन (इनसो) तथा हिन्द महासागरमा विकसित हुने इन्डियस ओसियन डिपोल (ओइओडी)को हालको अवस्था विश्लेषण गरेर ऋतुगत आकलन तयार पार्ने गरेको छ। यस अतिरिक्त युरोप तथा एसियामा गत हिँउद तथा प्रि–मनसुन याममा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका विभिन्न कारकको विश्लेषणका आधारमा आकलनलाई समृद्ध बनाउने गरेको छ।
हाल प्रशान्त महासागरमा इनसो तटस्थ छ। र, यो प्राकृतिक अवस्थामै रही एल–निनो अवस्थातर्फ उन्मुख हुने विश्लेषण गरिएको शाखाले बताएको छ।
एल–निनो प्रशान्त महासागरको उष्णकटिबन्धीय भागमा हुने हावापानी प्रणाली हो। एल–निनो सक्रिय हुँदा समुद्री सतहको तापक्रम घट्छ।
सामान्य अवस्थामा पूर्वी प्रशान्त; पेरू, इक्वेडरको तटमा चिसो पानी आउँछ। एल–निनो सक्रिय हुँदा यो चिसो पानीको प्रवाह घट्छ। समुद्री सतहको तापक्रम ०.५ डिग्री सेल्सियस वा त्योभन्दा पनि बढी तातो हुन्छ।
जसका कारण पूर्वी हावा (ट्रेड वाइन्ड) कमजोर हुने अथवा उल्टो दिशामा बहन थाल्छ।
एल–निनो प्रणाली २ देखि ७ वर्षको अन्तरालमा आउने र ९–१२ महिनासम्म कहिले त २ वर्षसम्म पनि सक्रिय हुने मौसमविदले बताएका छन्।
जसले दक्षिण अमेरिकी क्षेत्रमा भारी वर्षा निम्त्याउँछ।
नेपाललगायत दक्षिण एसियामा भने मनसुन कमजोर हुन्छ। जसले गर्दा कम वर्षा र सुख्खाको सम्भावना हुन्छ।
ला–निनोको अवस्थामा भने यसभन्दा ठीक विपरीत सरदरभन्दा बढी वर्षाको सम्भावना रहने गर्छ।
अहिले प्रि–मनसुन याममा दिनहुँ झरी परिरहेको छ। यो क्रम वैशाखभरि नै रहने मौसमविद विनोद पोखरेलले जानकारी दिएका छन्।
उनका अनुसार जेठ १५ देखि साउन १५ सम्मको अवस्था हेर्दा यसपालि मनसुनको पहिलो आधा समय सुख्खा हुनेछ। यसअवधिमा ३०–४० प्रतिशत मात्र रोपाइ हुनसक्ने उनले बताएका छन्।
मनसुनको अवस्था विश्लेषण गर्दा यसपटक धान बालीको उत्पादन घट्ने अनुमान गर्न सकिने मौसमविदले बताएका छन्।