यमनका हुथी विद्रोहीले दक्षिणी सहर एडेनस्थित राष्ट्रपति भवन परिसरमा मिसाइल र ड्रोन आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
यमनका स्वास्थ्य मन्त्रालयका अनुसार अनुसार आक्रमणमा राष्ट्रपति भवन परिसरमा कार्यरत सुरक्षाकर्मी र सर्वसाधारण कर्मचारी मारिएका हुन्।
यमनका सूचना मन्त्री मोअम्मर अल-एर्यानीले प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरू भने सुरक्षित रहेको बताएका छन्।
इराननिकट हुथी विद्रोहीले साउदी अरबको समर्थन प्राप्त यमन सरकारको मुख्यालय रहेको अल-माशिक राष्ट्रपति भवनलाई निशाना बनाएका हुन्।
हुथी सैन्य प्रवक्ता याह्या सारीले एडेनमा रहेको साउदी सेनाको सैन्य कारबाही मुख्यालयमा आक्रमण गरेको दाबी गरेका छन्।
उनले साउदी सेनाका थप सैन्य जनशक्तिलाई जहाँ भेट्यो त्यहीँ निशाना बनाउने आफ्नो नीति रहेको बताएका छन्।
हुथी सञ्चालित समाचार संस्था साबाले उक्त मुख्यालय साउदी अधिकारीहरूले सञ्चालन गरेको र त्यहाँ हतियार भण्डारण गरिएको दाबी गरेको छ।
तर ती दाबी स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको रोयटर्सले जनाएको छ।
साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले पछिल्ला साताहरूमा हुथी विद्रोहीले साउदीका विमानस्थल, बन्दरगाह र तेल प्रतिष्ठानसहितका पूर्वाधारमा दर्जनौँ आक्रमणको प्रयास गरेको जनाएको छ।
गठबन्धनका प्रवक्ता तुर्की अल-मालिकीले अक्टोबर महिनामा मात्र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हुथीले २० पटक आक्रमण गरेको बताए।
उनका अनुसार ती आक्रमणमा १७ जनाको मृत्यु भएको छ भने ३३३ जना घाइते भएका छन्।
यस्तै, यमनको सीमावर्ती दक्षिणपश्चिमी क्षेत्रमा रहेको आभा विमानस्थलमा हुथीको आक्रमणबाट तीन जनाको मृत्यु र २८ जना घाइते भएको गठबन्धनले जनाएको छ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको परिषद्ले साउदी अरबका नागरिक विमानस्थल, विमान र हवाई पूर्वाधारमाथि भएका पछिल्ला आक्रमणको निन्दा गरेको छ।
मालिकीले क्षेत्रीय पक्षहरूको सहयोगमा हुथी विद्रोहीले ब्यालिस्टिक मिसाइल, ड्रोन र विस्फोटक पदार्थ बोकेका तीव्र गतिका डुंगासहित उन्नत सैन्य प्रविधि प्राप्त गरेको आरोप लगाए। इरानले हुथीलाई हतियार, आर्थिक सहयोग र तालिम उपलब्ध गराउँदै आएको छ।
तर संयुक्त राष्ट्रसंघको हतियार प्रतिबन्ध उल्लंघन हुने गरी आफूले हुथीलाई हतियार दिएको आरोप तेहरानले अस्वीकार गर्दै आएको छ।
गठबन्धनले यमनका पहाडी क्षेत्रमा रहेका हुथीका १२७ वटा हतियार भण्डारणस्थल र प्रक्षेपण केन्द्र ध्वस्त पारेको पनि जनाएको छ। उसले सर्वसाधारण र नागरिक पूर्वाधारलाई निशाना बनाउने गतिविधि तत्काल रोक्न हुथीलाई आग्रह गरेको छ।
यसैबीच, हुथी सैन्य प्रवक्ताले साउदी अरबको हवाई क्षेत्र र विमानस्थल असुरक्षित रहेको चेतावनी दिँदै विमान सेवा प्रदायकलाई त्यहाँ उडान नगर्न पुनः आग्रह गरेका छन्।
यद्यपि उनले मक्का र मदिनामाथिको हवाई क्षेत्रलाई उक्त चेतावनीबाट अलग राखेका छन्।
साउदी नागरिक सुरक्षा निकायले बिहीबार नज्रान र जिजान क्षेत्रमा सम्भावित खतराबारे पूर्व चेतावनी जारी गरेको थियो।
पछि खतरा टरेको जनाएको थियो। गठबन्धनले दक्षिणपश्चिमी सहर खमिस मुशैतमा एउटा ड्रोन र देशको दक्षिणी क्षेत्रतर्फ प्रक्षेपण गरिएको अर्को ड्रोनलाई पनि रोकिएको जनाएको छ।
यमनमा हुथी विद्रोही र साउदी समर्थित सरकारी सेनाबीच गत महिनादेखि पुनः लडाइँ सुरु भएको हो।
गत साता सरकारी सेनाले हुथीको नियन्त्रणमा रहेका क्षेत्र फिर्ता लिने अभियान चलाउँदै महत्त्वपूर्ण समुद्री मार्ग बाब अल-मन्देब जलडमरूमध्य नजिक केही भूभाग पुनः कब्जा गरेको थियो।
यमनमा सन् २०१४ मा हुथी विद्रोहीले राजधानी सानामा कब्जा जमाएपछि युद्ध सुरु भएको थियो। त्यसपछि सरकारले दक्षिणतर्फ सर्नुपरेको थियो।
सन् २०१५ मा साउदी नेतृत्वको सैन्य गठबन्धनले हस्तक्षेप गरे पनि द्वन्द्व लामो समयसम्म जारी रह्यो। सन् २०२२ मा भएको युद्धविराम यस वर्षसम्म कायम थियो।
अहिलेको द्वन्द्व अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि गरेको आक्रमणपछि सुरु भएको व्यापक क्षेत्रीय युद्धको अर्को मोर्चाका रूपमा देखिएको छ।