काठमाडौंको माइतीघरमा युवा तथा विद्यार्थीहरूले स्वदेशमै रोजगारी सिर्जना गर्न माग गर्दै सडक नाटक प्रदर्शन गरेका छन्।
युवा उन्मुख संस्था ‘सिभिक्स’ ले युवा तथा विद्यार्थीहरूको हित र सशक्तीकरणका लागि सडक नाटक प्रदर्शन गरेको हो।
‘सीड इकोनोमी’, ‘ब्रेन ड्रेन’ र ‘इन्क्लुजन’ विषयवस्तुमा आधारित उक्त नाटकमार्फत युवा तथा विद्यार्थीहरूलाई स्वदेशमै सिपमूलक रोजगारीका अवसर सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराइएको आयोजकले जनाएको छ।
प्रदर्शनका क्रममा सहभागीहरूले विद्यार्थीहरूलाई अध्ययनसँगै दिनको केही घण्टा काम गर्ने अवसर उपलब्ध गराइनुपर्ने र त्यसअनुसार उचित पारिश्रमिक सुनिश्चित गरिनुपर्ने धारणा राखेका थिए।
सरकारले हालसम्म आफ्नो नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा यस विषयलाई प्राथमिकताका साथ समावेश नगरेकाले रचनात्मक माध्यमबाट ध्यानाकर्षण गराउन सडक नाटक आयोजना गरिएको हो।