बंगालको खाडीमा मनसुनको गति सुस्त देखिए पनि देशभर उल्लेख्य वर्षा भइरहेको छ।
पछिल्लो २४ घण्टामा इलाको कन्याम चियाबगान क्षेत्रमा ७२.२ मिलिमिटर वर्षा भयो। इलामकै हिमाली गाउँ आसपास ५७, झापाको अनारमनी क्षेत्रमा ४९.४ मिलिमिटर वर्षा भयो।
पछिल्लो समय पश्चिम तराईका जिल्लाहरूमा गर्मी पनि बढिरहेको छ। धनगढी, नेपालगञ्ज, भैरहवा आसपासका क्षेत्रमा ४० डिग्रीसम्म तापक्रम पुगेको छ। देशका अन्य भूभागमा भने उल्लेख्य वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षाको क्रम अझै केही दिन रहने देखिएको छ।

हाल नेपालको मौसम प्रणालीमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखाको प्रभाव छ। साथै अहिलेको प्रणालीामा स्थानीय वायुले पनि वर्षा गराउन भूमिका खेलिरहेको छ।
हाल कोशी, बागमती, गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल तथा बाँकी भू–भागमा आंशिक बादल लागिरहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। मधेस प्रदेश लगायत, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेकोले सतर्क रहन विभागले भनेको छ।
मौसमविद् विनोद पोखरेलले मनसुनी वायु भित्रन अझै केही समय लाग्ने देखिए पनि अहिले राम्रै पानी परिरहेको बताउँछन्। पानी पर्ने क्रम अझै केही समय चल्ने देखिएकाले मनसुनी वायु नआए पनि र कमजोर रूपमा आउने त्यस वायुले पानी नपार्ने भए पनि अहिले परिरहेको पानीले कृषकलाई राम्रै फाइदा दिने उनले बताए।
‘आज र भोलि अलि थोरै ठाउँमा थोरै वर्षा हुने भए पनि भोलि बेलुकादेखि शुक्रबारसम्म केही ठाउँमा भारी वर्षाको सम्भावना छ, साथै पश्चिम तराईमा पनि राम्रै पानी पर्ने देखिन्छ,’ त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञानका सहप्राध्यापकसमेत रहेका उनले भने।
आगामी २ हप्ताको अवस्था हेर्दा नेपालभरि राम्रै वर्षा हुने देखिएकोले किसानहरूलाई यसले ठूलो राहत दिने उनले बताएका छन्।
सुरूआती विन्दुमा चाँडै विकास भएको मनसुनी वायु हाल बंगालको खाडी हुँदै भारतको मेघालय, आसाम, अरूणचाल प्रदेश आसपास आइपुगेको छ। ७ जुनमा मनसुन त्यहाँ आइपुगेको हो। नेपालमा सरदर जुन १३ मा मनसुन भित्रने भए पनि त्यही आसपास भित्रन्छ कि चाँडोढिलो हुन्छ, यकिन गर्न नसकिएको मौसमविद्ले बताएका छन्।