नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो क्रममा देखिएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) अन्तर्गत वीर अस्पतालमा रहेको राष्ट्रिय ब्रेन ट्युमर केन्द्र (एनबीटीसी) ले विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२५ मा कुल करिब ३ हजार जनाले उपचार सेवा लिएका थिए।
सन् २०२४ र २०२५ का तथ्यांकको तुलनात्मक अध्ययन सार्वजनिक गर्दै यो संख्या सन् २०२४ मा उपचार गराएका करिब २ हजार ६ सय बिरामीको तुलनामा १५.४ प्रतिशत बढी हो।
तथ्यांक अनुसार सन् २०२५ मा उपचारका लागि आएका बिरामीमध्ये १ हजार ५७० (५२.३१ प्रतिशत) महिला र १ हजार ४३० (४७.६९ प्रतिशत) पुरुष थिए। बिरामीको औसत उमेर ४६.३२ वर्ष रहेको तथा सबैभन्दा बढी बिरामी ३०–५० वर्ष उमेर समूहका रहेको उल्लेख गरिएको छ। बागमती प्रदेशबाट सबैभन्दा धेरै अर्थात् ३६.८ प्रतिशत बिरामी उपचारका लागि आएका थिए।
अध्ययनले ग्लियोमा दुवै वर्षमा सबैभन्दा बढी देखिएको ट्युमर रहेको जनाएको छ। उच्च–ग्रेड ग्लियोमा (एचजीजी) को अनुपात सन् २०२४ को ४३.१ प्रतिशतबाट बढेर सन् २०२५ मा ५५.६ प्रतिशत पुगेको छ, जसले गम्भीर प्रकृतिका बिरामी बढिरहेको संकेत गरेको केन्द्रको निष्कर्ष छ।
त्यस्तै, मेनिन्जियोमाको हिस्सा १७.६ प्रतिशतबाट बढेर ३१.१ प्रतिशत पुगेको छ भने ग्रेड–३ मेनिन्जियोमा १५ प्रतिशतले घटेको उल्लेख गरिएको छ। पुरूष र महिलामा ब्रेन ट्युमरको प्रभाव लगभग समान रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सेवा पहुँच अझै कमजोर रहेको प्रतिवेदनले देखाएको छ।
केन्द्रका संस्थापक अध्यक्ष डा. राजीव झाले प्रारम्भिक पहिचान र समयमै उपचार गर्न सके धेरै बिरामीको जीवन बचाउन सकिने बताए।
यसै अवसरमा न्यूरोअन्कोलोजी सेवामा योगदानका लागि डा. सौरभ बडाथोकीलाई ‘च्याम्पियन अफ न्यूरोअन्कोलोजी केयर २०२६’ सम्मान प्रदान गरिएको केन्द्रले जनाएको छ।
साथै, वीर अस्पतालले आगामी असार मसान्तसम्म सम्पूर्ण ब्रेन ट्युमर शल्यक्रिया निःशुल्क गर्ने निर्णयलाई निरन्तरता दिने घोषणा गरेको छ।