पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ ६ महिनाभित्र १७ करोड ८ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गर्ने सर्तमा धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत कास्कीले भोटेलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशअनुसार उनले सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको सहकारी ठगी मुद्दामा उल्लेखित बिगो बराबरको रकम ६ महिनाभित्र बुझाउने सहमतिपछि अदालतले रिहाइको आदेश दिएको हो। सहकारी सञ्चालक समितिसँग भएको मिलापत्रका आधारमा जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले आदेश जारी गरेको अदालत स्रोतले जनाएको छ।
शुक्रबारको सुनुवाइका क्रममा सहकारीका अध्यक्ष किरण श्रेष्ठ र सचिव दुर्गानाथ न्यौपानेले भोटेसँग भएको सहमति अदालतमा पेस गरेका थिए।
उनीहरूले भोटेका आमा आसमाया गुरूङको नाममा रहेको पोखरा–८, लुकुनस्वारास्थित जग्गाको रोक्का फुकुवा गर्न पनि माग गरेका थिए। अदालतले उक्त जग्गा सहकारीको नाममा हस्तान्तरण गर्ने प्रयोजनका लागि रोक्का फुकुवा गर्न आदेश दिएको छ।
अदालतले भोटेले सहमतिअनुसार रकम बुझाए वा नबुझाएको विवरणसहित छ महिनापछि मुद्दा पुनः इजलासमा पेस गर्न पनि आदेश दिएको छ।
भोटे सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक समिति सदस्य हुन्। उनी नेकपा एमाले निकट युवा संघ नेपालका पूर्व उपमहासचिव तथा २०७९ को स्थानीय तह निर्वाचनमा कास्कीको मादी गाउँपालिका अध्यक्ष पदका एमाले उम्मेदवार थिए।
अभियोगपत्रअनुसार उनले सहकारीको भवन आफ्नो नाममा पास गराएको र सहकारीको रकम अपचलन गरेको आरोप खेपिरहेका छन्।
यस प्रकरणमा पूर्व अध्यक्ष जीबी राई, ज्ञानबहादुर बमजन, उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल र भोटेसहित १९ जना विरूद्ध मुद्दा दायर गरिएको थियो।
अदालतले २०८० भदौ २४ गते पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका भोटे गत पुस १७ गते कानुन व्यवसायीसहित अदालतमा उपस्थित भएका थिए। त्यसपछि उनलाई पुर्पक्षका लागि कारागार पठाइएको थियो।
भोटेविरूद्धको संगठित अपराधसम्बन्धी मुद्दा भने यसअघि नै फिर्ता भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका प्रतिवादीविरूद्ध दायर संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयसँगै यस प्रकरणका अन्य प्रतिवादीमाथिका ती अभियोग पनि खारेज भएका थिए।
जिल्ला अदालत कास्कीमा विचाराधीन सूर्यदर्शन सहकारी ठगी मुद्दामा कुल १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ। अभियोजन पक्षले मुख्य अभियुक्त मानेका पूर्व अध्यक्ष जिबी राई अझै फरार छन्।
सहकारीका अध्यक्ष किरण श्रेष्ठले बचतकर्ताको रकम फिर्ता गराउने उद्देश्यले रकम तिर्न इच्छुक अभियुक्तहरूसँग मिलापत्रको प्रयास भइरहेको बताए। उनका अनुसार अनुसन्धान प्रतिवेदनमा उल्लेख भएका रकम फिर्ता गर्न तयार व्यक्तिसँग सहमति गरी बचतकर्तालाई राहत दिने प्रयास भइरहेको छ।
‘बचतकर्ताहरू लामो समयदेखि पीडित छन्,’ श्रेष्ठले भने, ‘रकम फिर्ता गर्न तयार हुनेहरूसँग सहमति गरेर बचत फिर्ता गराउने हाम्रो प्राथमिकता हो।’