कीर्तिपुरमा एक जना महिलाको मृत्यु भएको घटनामा उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।
जेठ ११ गते कीर्तिपुरको एक टहरामा अन्दाजी ४० वर्षकी शर्मिला बुढाथोकी मृत अवस्थामा फेला परेकी हुन्।
उनको मृत्यु भएको घटनामा अनुसन्धानका लागि प्रहरीले उनकै श्रीमानलाई पक्राउ गरेको छ।
शर्मिलाको छोराले दिएको किटानी जाहेरीका आधारमा श्रीमान शंकर राईलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार मृतकको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमर्टम भइसकेको छ।
पोष्टमर्टमपछि भिसेराका लागि स्याम्पल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।
‘डोरी काटिएको, निलडाम देखिएको भन्ने लगायतका कुराहरू आएका छन्। त्यस विषयमा अनुसन्धान भइरहेको छ,’ एसपी भट्टराईले भने।
मृतकको शव पोष्टमर्टम भए पनि अन्त्येष्टि भने भइसकेको छैन।