प्रतिनिधिसभाका सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघन गरेकोमा कारबाही गरिएको छ।
मोबाइलले भिडिओ खिच्दै बाइक चलाएको देखिएपछि ट्राफिक प्रहरीले उनलाई लापरबाही साथ सवारी चलाएको कसुरमा जरिवाना गरेको हो।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (१) ग बमोजिम कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ।
'सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानुनी कारबाही गरिसकेको जानकारी गराइन्छ,' नेपाल प्रहरीले भनेको छ।
राईले सामाजिक सञ्जालमा भिडिओमा राखेपछि उनलाई कारबाही गर्नुपर्ने भन्दै माग भएको थियो। एक हातले सवारी चलाउँदा उनी दुर्घटनामा समेत परेका थिए।
ट्राफिक प्रहरी कोशीका प्रवक्ता डिएसपी होमप्रसाद अधिकारीले भने, 'हामीले उक्त मोटरसाइकललाई फलो गरेर जाँच गर्दा बाइक अहिलेसम्म शोरूमकै नाममा रहेको पाइयो। चालकको नाममा चिट काटेर शोरूममा चिट जिम्मा बुझाएका छौं।'
पहिलो पटकको कसुरदार भएकाले ५ सय रूपैयाँ जरिवाना तोकिएको उनले जानकारी दिए।
प्रहरीका अनुसार, उक्त सवारी चलाउने व्यक्ति स्वयं नै हर्क साम्पाङ भएकाले उनको नाममा जरिवाना रसिद (चिट) जारी गरिएको हो।
'हामीले जरिवानाको सूचना जारी गरिसकेका छौं। अब जरिवाना बुझाउने प्रक्रिया भने सम्बन्धित व्यक्तिले नै पूरा गर्नुपर्ने हुन्छ,' अधिकारीले थपे।
ट्राफिक प्रहरीले आफ्नो फेसबुक पेजमा सांसद साम्पाङको तस्बिर नै राखेर उनीमाथि 'जनगुनासोका आधारमा कारबाही भइसकेको' उल्लेख समेत गरेको छ।