दाङ सहित रूकुमका दुई जिल्लाबाट गरि २० ग्राम बढी ब्राउन सुगरसहित पाँच जना मानिस पक्राउ परेका छन्।
कपिलवस्तु शिवराज नगरपालिका–५ पर्चियाका ४२ वर्षीय साकिर खान दाङको राप्ती गाउँपालिका–१ भालुबाङ बजार क्षेत्रबाट पक्राउ परेका छन्।
खान अवैध ब्राउन सुगर बिक्री वितरण गर्न भालुबाङतर्फ आइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुबाङबाट गरिएको स्वीप अपरेसनका क्रममा उनी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीका अनुसार साथबाट ६ ग्राम ७७० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको थियो।
खानमाथि जिल्ला अदालतबाट म्याद थप भई लागुऔषध सम्बन्धी शिर्षकमा मुद्दा चलाउने गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी केसीले बताए।
त्यस्तै, रूकुम पूर्वबाट दुई युवा ३ ग्राम ४०० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर विकका अनुसार सिस्ने गाउँपालिका–६ का २५ वर्षीय अविन केसी र सिस्ने–२ का २९ वर्षीय शेरसिंह रोका मगर उक्त परिमाणमा ब्राउन सुगरसहित आइतबार पक्राउ परेका हुन्।
सिस्ने–६ खोपीचौर अन्तगर्त पर्ने मध्यपहाडी लोकमार्गमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।
उनीहरूको साथबाट विभिन्न तीन वटा पोकामा ८ पुरिया ब्राउन सुगर बरामद भएको प्रहरी निरीक्षक बिकले बताए।
जिल्ला अदालत रूकुम पूर्वबाट सोमबार ६ दिनको म्याद थप भई उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, रूकुम पश्चिम प्रहरीले पनि ११ ग्राम ४३० मिलीग्राम ब्राउन सुगर सहित दुई युवालाई पक्राउ गरेको छ।
रूकुम पूर्वको भूमे गाउँपालिका–२ काक्रीका २१ वर्षीय हिमाल घर्ती र २० वर्षीय राजु बुढा मगर उक्त परिमाणको ब्राउन सुगर सहित पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक झबिन्द्र परियारले बताए।
रूकुम पश्चिमको मुसिकोट नगरपालिका– ५ शेरीगाउँ अन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट सवारी चेकमा खटिएको प्रहरी टोलीले उनीलाई आशंका लागि चेक गर्दा ब्राउन सुगर बरामद गरेको थियो।
घर्तीले चलाएको रा ७ प ९६१६ नम्बरको मोटरसाइकल शंकास्पद अवस्थामा चलाइरहेको देखेपछि चेकजाँच गर्दा ११ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।
प्रहरी निरीक्षक परियारका अनुसार सोमबार जिल्ला अदालत रुकुम पश्चिमले उनीहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको छ।