दाङमा बिग्रिएर सडक किनारमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। उक्त घटनामा अर्का एक जना घाइते छन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुरका ३८ वर्षीय जिवन गिरीको मृत्यु भएको हो।
गम्भीर घाइते उनलाई उपचारका लागि लमही अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिएर
जिल्ला प्रहरी प्रवक्ता डिएसपी हेमबहादुर केसीका अनुसार मोटरसाइकलमा सवार सोही ठाउँका ३२ वर्षीय धनिराम चौधरी घाइते छन्। लमहीको उपचारपछि उनलाई थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरी उपचार भइरहेको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–५ रातोडाँडास्थित सडक किनारमा बिग्रिएर रोकिराखेको ना ५ ख ९३३६ नम्बरको ट्रकको पछाडिको भागमा मंगलबार बिहान करिब पौने ५ बजेतिर लु १२ प ९८४० नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रक बिग्रिएपछि सडक किनारमै चालकले रोकेर राखेका थिए।
मोटरसाइकल पनि पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा पछाडिको भागमा ठोक्किएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।