तीन वर्षदेखि विचाराधीन रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको सुनुवाइ भएर हेर्दाहेर्दैमा राखिएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाउने भन्दै ठूलो रकम असुली गरेको प्रकरण लामो समयदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दा न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुनुवाइ हुन थालेको हो।
सूचना अधिकारी शिव खतिवडाका अनुसार उक्त मुद्दाको सुनुवाइ बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।
‘मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ। बिहीबार फेरि सुनुवाइ हुन्छ,’ उनले भने।
निरन्तर बहस भएमा वा अन्य कुनै आदेश नभएमा केही दिनमा यस मुद्दाको अन्तिम फैसला आउन पनि सक्नेछ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत युरोपेली देशमा पठाउन ठूलो रकम असुली गरेको आरोप लागेको थियो।
यस घटनामा ठगी, लिखत किर्ते, राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरको मुद्दा २०८० जेठ १० गते दायर भएको थियो।
पछि थप जाहेरीको आधारमा केशवप्रसाद दुलालसहित पाँच जनाविरूद्ध फेरि २०८१ वैशाख ९ गते पूरक अभियोग दर्ता भएको थियो र बेचन झा पक्राउ परेपछि उनीविरूद्ध साउन २९ गते पूरक अभियोग दायर भएको थियो।
यस मुद्दामा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेय, इन्द्रजित राई, बेचन झा, पूर्वसभासद आङ्टावा शेर्पालगायत प्रतिवादी छन्।
भुटानी शरणार्थीका रूपमा अमेरिका लैजाने आश्वासन दिएर आफूहरूसँग करोडौं पैसा ठगी गरेको भन्दै २०७९ जेठ १८ गते काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालयमा ८१ जनाले उजुरी दिएका थिए। उनीहरूले ठगी गर्ने गिरोहका प्रमुख नाइके भनेर केशव दुलाल, सानु भण्डारी लगायतविरूद्ध उजुरी दिएका थिए।
आफूहरूसँग १३ करोड रूपैयाँ उठाएको भन्दै कैयन् प्रमाणसहित उनीहरूले उजुरी गरेका थिए। दाङका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले ८१ जनाको तर्फबाट सो उजुरी दर्ता गराएका थिए।
बुढाथोकी र रेग्मी दुवैले अमेरिका लैजाने भन्दै दाङमा मानिसहरू भेला गरी पैसा उठाएर गिरोहलाई बुझाएका थिए।
अमेरिका जान उनीहरूको परिवारले पनि पैसा बुझाएको थियो।
अमेरिका जान नपाएपछि पीडितहरूले पैसा मागेर उनीहरूलाई नै र्याखर्याख्ती पार्न थाले। त्यसपछि उनीहरूले दुलाल र गुरूङविरूद्ध कार्यालयमा उजुरी दिएका थिए।