६० वर्षभन्दा माथिका नागरिकमा मुटुको चाल बिग्रिने (अरिदमिया) रोगको अवस्था पहिचान गर्न राष्ट्रियस्तरको सर्वेक्षण गरिने भएको छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को राष्ट्रिय प्राथमिकताको अनुसन्धानअन्तर्गत सञ्चालन हुन लागेको उक्त अध्ययनमा देशका ६ जिल्लाका १२ पालिकाका १ हजार ६ सयभन्दा बढी व्यक्तिलाई बताइएको छ।
सर्वेक्षणका क्रममा सहभागीहरूको पल्स परीक्षण तथा इसिजी (ईसीजी) जाँच गरी मुटुको चालसम्बन्धी समस्या अध्ययन गरिने प्रमुख अनुसन्धानकर्ता प्रा. डा. अनिल भट्टराई जानकारी दिए। अनुशन्धानका लागि डा. प्रभावत खकुराल र डा. सूर्य देवकोटा सह-अनुसन्धानकर्ताका रूपमा संलग्न छन्।
अनुसन्धानको कार्ययोजना र कार्यविधिबारे छलफल गर्न बुधबार कार्यशाला आयोजना गरिएको थियो।
कार्यशालाको अध्यक्षता मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलले गरेका थिए।
कार्यक्रममा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डीन प्रा. डा. मोहन शर्माले राष्ट्रिय प्राथमिकताका विषयमा अनुसन्धान हुनु सकारात्मक भएको बताउँदै यस्ता अध्ययनले स्वास्थ्य क्षेत्रको नीति निर्माण र सेवाको सुधारमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
कार्यशालामा अनुसन्धान विभागका प्रमुख प्रा. डा. ईश्वर कोइराला, विज्ञहरू प्रा. डा. राजेन्द्र कोजु र प्रा. डा. रवि मल्ल, महाराजगञ्ज मेडिकल क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. सुरेश उप्रेती, आईओएमका सहायक डीन प्रा. डा. शन्तकुमार दास तथा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुवास आचार्यलगायतको सहभागिता रहेको थियो।
प्राध्यापक, चिकित्सक, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी दुई दर्जनभन्दा बढी सहभागी रहेको कार्यक्रममा प्रा. डा. अनिल भट्टराईले अनुसन्धानको कार्यविधि प्रस्तुत गरेका थिए। कार्यशालामा सर्वेक्षणलाई प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।