अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली सूचना प्रकाशन गरी ठेक्का मिलेमतो गरेको आरोपमा डा. प्रभात झासहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झा सहित ५ जनाविरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
झा सहित इन्जिनियर अशोककुमार सिंह, सहायक सब–इन्जिनियर प्रमोदकुमार सिंह, राधाकृष्ण निर्माण सेवा र त्यसका प्रबन्धक कौशल्या कुमारी रजक सहित ५ जनाविरूद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
भवन निर्माण ठेक्कामा मिलेमतो गरी राज्यलाई एक करोड २६ लाख रुपैयाँभन्दा बढी नोक्सानी पुर्याएको अख्तियारको आरोप छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७९/८० मा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजको भवन निर्माणका लागि ४ करोड ४९ लाख ९८ हजार २७२ रुपैयाँ लागत अनुमान तयार गरिएको थियो।
उक्त ठेक्काका लागि राष्ट्रियस्तरको खुला बोलपत्र आह्वान गरिएको देखाइए पनि वास्तविक रूपमा सूचना प्रकाशन नगरी नक्कली पत्रिकाको प्रति तयार गरेर प्रक्रिया अघि बढाइएको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानका क्रममा तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत झा सहितको मिलेमतोमा भ्रष्टाचार गरेको देखिएको अख्तियारको भनाइ छ।
सार्वजनिक खरिद नियमावली विपरीत श्रीराम निर्माण सेवाको आर्थिक प्रस्ताव नै नखोली राधाकृष्ण निर्माण सेवाको बोलपत्र स्वीकृत गरिएको जनाएको छ।
पछि पुनरावलोकन प्रक्रियाका क्रममा श्रीराम निर्माण सेवाको आर्थिक प्रस्ताव खोल्दा उक्त कम्पनीले २ करोड ८९ लाख ६४ हजार २४१ रुपैयाँमा काम गर्न प्रस्ताव गरेको देखिएको थियो। तर राधाकृष्ण निर्माण सेवासँग भने ४ करोड १६ लाख ६० हजार ५१० रुपैयाँमा सम्झौता गरिएको पाइएको छ।
दुवै प्रस्तावबीच १ करोड २६ लाख ९६ हजार २६८ रुपैयाँ ७१ पैसाको अन्तर रहेको र सोही रकम बराबर सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुगेको अख्तियारको दाबी छ।
सोही अनुसार सबै प्रतिवादीसँग बिगोबमोजिमको रकम असुलउपर गर्न तथा कानुनबमोजिम कैद र जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरेको छ।