झन्डै चार महिनादेखि पश्चिम एसियामा जारी युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच सम्झौता भएलगत्तै इरानले बन्दी बनाएका नेपाली युवा अमृत झाका परिवारजनले केही सन्तोषको सास फेर्न थालेका छन्।
तर अमृत फर्किने अझै टुंगो नहुँदा उनीहरू पीडामा छन्।
उदयपुर त्रियुगा घर भएका अमृत झाविरूद्ध इरानले लगाइएको मुद्दा लम्बिइरहे पनि नेपाल सरकारले पर्याप्त कूटनीतिक पहल गर्न नसकेको भन्दै उनकी आमा प्रभावती, दिदी पूजासँगै उनलाई माया गर्ने नजिकका आफन्त रिसाएका छन्।
महिनौंदेखि हिरासतमा बन्द अमृतको अवस्थाप्रति चिन्तित छन्।
थाइल्यान्डमा पानीजहाज चालक तालिम लिएका अमृत युएईको दुबईस्थित तेल ढुवानी कम्पनीमा काम गर्थे।
झन्डै ६ महिनाअघि, जनवरी १२ मा, इरानदेखि दक्षिणतिर पर्ने स्ट्रेट अफ हर्मुज भनिने जल क्षेत्रको केश्म टापू नजिकै भएर तेल ढुवानी गर्दैगर्दा अमृत र उनका केही भारतीय सहकर्मीलाई इरानी जलरक्षकले पक्राउ गर्यो। तेलवाहक जहाजको बाक्लो आउजाउ हुने हर्मुज क्षेत्रबाट विश्वको २० प्रतिशत तेल ढुवानी हुन्छ।
त्यसपछि उनीहरूलाई बन्दरगाह सहर बन्दर अब्बासमा हिरासतमा बन्दी बनाइयो। बीचमा उनका केही सहकर्मी रिहा भइसके पनि अमृतसहित केही भारतीय थुनामा बसेर मुद्दा झेल्दै छन्।
गैरकानुनी रूपमा इरानी जलक्षेत्रमा प्रवेश गरेर अवैध रूरुपमा तेल तस्करी गरेको आरोप लगाइएका अमृत आफूविरूद्धको आरोप अस्वीकार गर्दै न्यायको लडाइँ लडिरहेका छन्।
उनको रिहाइको लागि पहल जारी राखेको बताउने नेपाल सरकारले दोहास्थित दूतावासमार्फत एक इरानी वकिल समेत खटाइसकेको छ।
नयाँ सरकार बने लगत्तै नयाँ परराष्ट्र मन्त्री शिशिर खनालले गत वैशाख २ गते अमृत रिहा भइसकेको भ्रामक खबर सार्वजनिक गरिदिए। तर त्यो झूट र गलत प्रमाणित भएपछि त्यो खबर सच्याएर माफी माग्दै सरकारले पहल निरन्तर जारी राखेको जानकारी दिए।
तर त्यस्तो खबर आएको २ महिना र इरानले बन्दी बनाएको करिब ६ महिना बितिसक्दा पनि अमृत रिहा नभएपछि उनकी आमा प्रभावती, बाबा गोबिन्द, दिदी पूजा र बहिनी सुधासहितका परिवारजन पीडामा छन्।
यो साता मात्रै अमेरिकी र इरानी राष्ट्रपतिबीच इरान युद्ध अन्त्य गर्ने सहमतिको खबर सुनेर अब इरानी न्यायिक प्रक्रिया अलि छिटो टुंगिने हो कि भन्ने आशा बढेको छ। तर अमृत इरानमा बन्दी भइरहँदा उनीहरुको चिन्ता उस्तै छ।
'हिजो फेरि अमृतको फोन आएको थियो, अदालती प्रक्रिया जारी छ र अर्को सुनुवाइ फेरि दुई हप्तापछि छ भन्दै थियो,' आमा प्रभावतीले शुक्रबार सेतोपाटीसँग भनिन्।
'कति लम्बिएको हो त्यो प्रक्रिया! सरकार र मन्त्रीले हामीले पहल गरिरहेका छौं भने पनि केही गरेजस्तो लागेन। नत्र किन ऊ अहिलेसम्म रिहा भएन? सरकारले राम्रो पहल गरेको भयो यस्तो हुन्थ्यो?'
उनको गुनासो र दुखेसो रोकिएन, 'खोई के भन्नु। अझै कति समय कुर्नुपर्ने हो? अमृत कहिले रिहा भएर घर आऊला? अमृत हाम्रो एक्लो छोरो हो। उसले फोनमा चिन्ता नलिनू भन्छ, तर हामीलाई साह्रै चिन्ता लाग्छ। हामीलाई राम्रोसँग निद्रा पनि लाग्दैन। जुन बेला पनि उसकै झलझली याद आइरहन्छ।'
पीडादायी ६ महिना
अमृत झाको पानी जहाज पक्राउ गरिएको हर्मुजको जल क्षेत्र। सौजन्य परराष्ट्र मन्त्रालय
हुन पनि गत जनवरीको पहिलो साता अमृतले आफू छिट्टै घर आउन लागेको फोनमा बताएका थिए।
तर जनवरी १२ मा जब उनी अन्य चालकदल सदस्यसहित हर्मुज जलक्षेत्रबाट इरानी जल रक्षकको नियन्त्रणमा परे, उनका सबै योजना तुहिन पुगे। उनी बन्दर अब्बास सहरको हिरासतमा पुगे।
इरान र अमेरिकाबीच नयाँ सहमति हुनुभन्दा केही दिनअघि मात्रै बन्दर अब्बास क्षेत्रमा समेत अमेरिकाले हमला गरेको खबर आयो। त्यो बेला आफूहरू साह्रै चिन्तित भएको आमा प्रभावतीले बताइन्।
केही महिनाअघि अदालती प्रक्रिया सुरू भएपछि नेपाल सरकारले वकिल पनि खटाइदियो। अमृत अब आफू छिट्टै रिहा हुने आसमा थिए। तर त्यसो भएन।
उनकी आमा बुबा तथा दिदीबहिनीका आँखा अमृतको बाटो हेर्दा हेर्दै थाकिसके।
उदयपुर गाईघाट उनको जन्मघर। उनी इरानमा थुनिएपछि त्रियुगा नदीबाट धेरै पानी बगिसक्यो।
यता दिदी पूजा बस्ने लोकन्थली नजिकैको हनुमन्ते र मनोहरा नदीबाट पनि धेरै पानी बगिसक्यो। अमृत इरानमा थुनिएपछि नेपालमा र उनको घरमा धेरै थोक बदलिइसकेको छ।
अमृत झाकी दिदी पूजाका अनुसार उनको पानी जहाजमा रहेका सामानको प्रयोगशाला परीक्षणपछि उनीहरू विरूद्धको अभियोग प्रमाणित हुन नसक्ने देखिइसकिएको छ।
यस्तो अवस्थामा नेपाल सरकारले सिधै इरानसँग उच्चस्तरमा कूटनीतिक वार्ता गर्नुपर्ने परिवारको जोड छ।
'त्यसो गरे मात्रै भाइ फर्किने वातावरण बन्न सक्छ। नत्र भने अझै कति महिना लाग्ने हो थाहा छैन। हामी असाध्यै चिन्तित भइसक्यौं। हामी थप धैर्य गर्न सक्दैनौं,' परिवारको भनाइ छ।
तर परराष्ट्र मन्त्री शिशिर खनालको भनाइ छ — सरकारले विभिन्न कूटनीतिक तहमा इरानसँग कुरा गरिरहेको भए पनि अमृत झाको मुद्दा इरानको अदालतमा पुगेकाले अब फैसला कुर्नुको विकल्प छैन।
उनले बिहीबार पत्रकार प्रतिनिधिसभामा जबाफ दिने क्रममा अमेरिका र इरानबीच भएको नयाँ सहमतिको प्रसंग समेत उल्लेख गरे।
तर अमृत इरानमा युद्ध सुरू हुनुभन्दा अगाडि नै तस्करीको आरोपमा पक्राउ परिसकेको स्मरण गरे।
'अमृत झालाई कानुनी सहायता दिन हाम्रा इरानस्थित अवैतनिक महावाणिज्यदूत पनि लागिरहनुभएको छ। अब अदालतको निर्णय आएपछि सहजीकरण गरेर अगाडि बढ्न सरकार तयार छ,' उनले भने।
***
यी पनि पढ्नुस्
'सरकार अरू नै कुरामा व्यस्त छ, हाम्रो छोरा ल्याउने फुर्सद छैन'
'नयाँ सरकारले छोरालाई रिहा गराएर घर ल्याउँछ भन्ने आश छ'
हर्मुज तनाव– पेट्रोलियम पदार्थमा अब नेपाललाई के असर पर्छ? कति दिनलाई पुग्ने भण्डार छ
एक्सः @surendraphuyal