काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी र रामबहादुर थापा 'बादल' का छोरा प्रतीक थापालाई सफाइ दिएको छ।
सफाइ पाउनेमा सन्दीप र प्रतीकसहित रामशरण केसी, टंककुमार गुरूङ, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी छन्।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उक्त मुद्दामा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेक नारायण पाण्डेलगायत २३ जनालाई विभिन्न मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार २९ गते अर्को पेसी तोक्न आदेश दिएको छ।
२०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वगृहसचिव पाण्डेलगायत ३० जनाविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरूद्धको अपराध, संगठित अपराध सम्बन्धी कसुर र एकीकृत कसुरमा सजाय गर्न माग गर्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो।
प्रतिवादीहरूमध्ये पूर्वउपप्रधानमन्त्री रायमाझीलाई राज्यविरूद्धको कसुर, ठगी तथा संगठित अपराधमा जिल्ला अदालतले दोषी ठहर गरेको छ। पूर्वगृहमन्त्री खाँणलाई भने यिनै कसुरमा मतियार ठहर गरिएको छ।
पूर्वगृहसचिव पाण्डेलाई ठगी, संगठित अपराध र राज्यविरूद्धको कसुरमा दोषी ठहर गरिएको जिल्ला अदालतको फैसलामा उल्लेख छ।
त्यस्तै, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई सरकारी लिखत किर्ते गरेको, ठगी तथा संगठित अपराधको कसुरमा मतियार बनेको र राज्यविरूद्धको कसुरमा पनि मतियार बनेको भन्दै दोषी ठहर गरिएको छ।
जिल्ला अदालतले यो प्रकरणमा मुख्य योजनाकार भनिएका सानु भण्डारी र केशव दुलाललाई पनि सरकारी लिखत किर्ते, ठगी तथा संगठित अपराध र राज्यविरूद्धको कसुरमा दोषी ठहर गरेको छ।
पढ्नुस्- भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, पूर्व गृहसचिव सहित २३ जना दोषी ठहर