दाङ, बबई गाउँपालिका–५ स्थित हापुरे बजारस्थित एक कस्मेटिक पसलमा बुधबार बेलुकी ८ बजेपछि भीषण आगलागी भइरहेको छ।
हापुरेस्थित खिमबहादुर सोमैले सञ्चालन गरेको गौरी शृंगार पसलमा आगलागी भइरहँदा पनि दमकल पुग्न सकेको छैन।
विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ।
आगलागी भएपछि सर्वसाधारणले आगो निभाउन हारगुहार गरिरहेका छन्।
यद्यपि तुलसीपुर उपमहानगरपालिकासहित त्यस पश्चिमका चार पालिका कसैसँग पनि दमकल छैन। यसअघि पनि पश्चिम दाङका चार पालिकामध्ये तुलसीपुर उपमहानगरपालिकासँग मात्रै एउटा दमकल थियो।
त्यो दमकल पनि २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगो लगाएर ध्वस्त पारिएको थियो।
वर्षदिन बितिसक्दा समेत तुलसीपुरले दमकल किन्न सकिरहेको छैन। त्यसैले यस्ता विपदका घटनामा सर्वसाधारण भगवान पुकार्दै बस्न बाध्य छन्।
तुलसीपुरभन्दा २४ किलोमिटर पूर्व र हापुरेभन्दा झन्डै ४६ किलोमिटर टाढा रहेको घोराहीबाट दमकल माग्नुपर्ने बाध्यात्मक अवस्था यहाँ देखिएको छ।
हापुरेका स्थानीय युवा झुपलाल बुढा क्षेत्रीका अनुसार राति १० बजेसम्म पनि त्यहाँ दमकल पुगिसकेको छैन। स्थानीयले बाल्टिनबाट पानी हालेर आगो निभाउने प्रयास भइरहेको उनले बताए।
'यहाँको अवस्था बिजोग छ,' उनले भने, 'सर्वसाधारण भगवान् पुकारिरहेका छन्।'
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीलगायत स्थानीय प्रहरी, सशस्त्र प्रहरी घटनास्थल पुगे पनि दमकलबिना उनीहरू पनि मुकदर्शक बन्नुपरेको क्षेत्रीले बताए।
घोराहीदेखि ४६ किलोमिटर टाढाको हापुरेसम्म दमकल पुग्न समय लागेको कारण आगलागीबाट सम्पूर्ण पसल नष्ट भएको क्षेत्रीले बताए।
'विपदमा राज्यले केही गर्ला भन्ने आश गर्नु भ्रम मात्रै रहेछ,' उनले भने।