काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउन माइक्रोबायोलोजी प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ।
काठमाडौं प्लाजामा स्थापना गरेको ल्याबको बुधबारबाट सञ्चालनमा ल्याइएको हो।
काठमाडौं महानगरपालिकी कार्यबाहक प्रमुख सुनिता डंगोलले एक कार्यक्रमका बीच ल्याब सञ्चालनको शुभारम्भ गरेकी थिइन्।
महानगरले आफ्नै प्रयोगशाला स्थापना गरेसँगै खाद्य नमूनाको परीक्षण छिटो हुने र बजार अनुगमनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने कार्यबाहक प्रमुख डंगोलले बताइन्।
उनले ल्याब नहुँदा बजार अनुगमनका क्रममा खाद्य वस्तुहरूको प्रयोगशाला परीक्षणमा समस्या भोग्नुपरेपछि आफैले ल्याब सञ्चालनमा ल्याएको जानकारी दिए। यसअघि आफ्नै ल्याब नहुँदा परीक्षण प्रतिवेदन आउन ढिलाइ हुँदा अनुुगमन प्रभावकारी हुन नसकेको उनको भनाइ छ।
आफ्नै प्रयोगशालाबाट प्रारम्भिक परीक्षण गर्न सकिने भएकाले अनुगमनलाई तीव्र र प्रभावकारी बनाउन सहज हुने उनले बताइन्।
महानगरले यसअघि सञ्चालनमा ल्याएको मोबाइल ल्याबलाई पनि नयाँ प्रयोगशालाले थप सहयोग गर्ने उनले उल्लेख गरिन्। स्वस्थ खाद्य वस्तु नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले महानगरले खाद्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ।
उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले धेरै पहिलेदेखि नै माइक्रो बायोलोजी ल्याब स्थापना गर्ने प्रयास गरेका थियौँ, यो आज स्थापना गरेका छौँ। हामीले बजार अनुगमनलाई निरन्तरता दिएका छौँ, अनुगमनको क्रममा धेरै समस्याहरू देखिने गरेका छन्। अनुगमनको क्रममा कतिपय वस्तुहरूको ल्याब टेस्टमा पठाउनुपर्ने हुन्छ, कतिपयमा दण्ड जरिवाना पनि गर्नुपर्ने हुन्छ। त्यसको लागि हामीलाई ल्याब टेस्टको जरूरी थियो, आफ्नै ल्याब टेस्ट नहुँदा अरूकोमा भर पर्दाखेरी परीक्षण रिपोर्ट आउन लामो समय लाग्ने भइरहेको थियो। अब ल्याब स्थापना भएसँगै केही परीक्षण हामीले यहीबाट गर्न सक्छौं। यो सुरूआत हो, यसलाई हामीले विस्तार गर्दै जानेछौँ।’
उनले अगाडि भनिन्, ‘साथै महानगरले यस अगाडि मोबाइल भ्यान ल्याबको पनि सुरूआत गरेका छौं। त्यसलाई यो ल्याबले अझ सहयोग गर्नेछ। हाम्रो खानेकुरा स्वस्थ भएमा हामी स्वस्थ हुने हो, यसलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ। हामी बजार अनुगमनमा जाँदा नमूना परीक्षणको लागि आफ्नै ल्याब हुँदा धेरै सहज हुनेछ, यसले अनुगमनलाई तीव्रता दिन सहज बनाउने र अनुगमन प्रभावकारी पनि बनाउने छ। महानगरपालिकाले दण्ड जरिवाना मात्रै गर्दैन, हामीले व्यवसायीहरूलाई खाद्य सुरक्षाको बारेमा पनि जानकारी दिनेछौँ। हामीले फुड सेफ्टी बुट क्याम्प पनि गर्ने गरेका छौं, हालसम्म ३ हजारभन्दा बढी व्यवसायीहरूलाई फुड सेफ्टी बुट क्याम्पमा राखेर खाद्य सुरक्षाको बारेमा जानकारी गराएका छौँ।’
महानगरले बजार अनुगमनका क्रममा दण्ड–जरिवानामा मात्र नभई व्यवसायीलाई खाद्य सुरक्षाबारे सचेतना प्रदान गर्ने गरेको जनाएको छ।
महानगरले ‘फुड सेफ्टी बुट क्याम्प’ मार्फत हालसम्म तीन हजारभन्दा बढी व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी तालिम प्रदान गरिएको जानकारी दिएको छ। –न्युज एजेन्सी नेपाल