कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारी साधन पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सवारी साधनका चालक मोरङ रङ्गेली नगरपालिका–३ दर्वेशाका ४२ वर्षीय पदम राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
भण्टाबारीबाट लौकहीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ४८३१ नम्बरको खाली पिकअप अनियन्त्रित भई गए राति सडकमा दुर्घटना भएको थियो।
दुर्घटनामा चालक राई गम्भीर घाइते भएकामा उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकामा उपचारको क्रममा मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिए।
सोही दुर्घटनामा पिकअपमा सवार सिराहा लहान नगरपालिका घर भई विराटनगर–१३ बस्दै आएका ३७ वर्षीय सन्तोषकुमार साह घाइते भएका छन्।
उनको अवस्था समान्य भएको र उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।