सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ।
उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरूमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित 'एम्स' अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो।
उनलाई भारत लैजान एयर एम्बुलेन्सको व्यवस्था पनि गरेको थियो।
उपचार खर्च पनि सरकारले नै ब्यहोर्ने गरी नेपालीलाई एम्स अस्पतालसम्म लैजान सबै बन्दोबस्त भइसकेको अवस्थामा वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहनुभएका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेको थियो।
यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलैजाने भएको सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ।
चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएको सचिवालयले जनाएको छ।
२५ वर्षीय नेपालीले बिहीबार राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आफूलाई जलाएका थिए।
उनी वीर अस्पतालको आइसियूमा उपचाररत छन्। वीर अस्पतालका सूचना अधिकारी ताराबहादुर कुँवरका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर छ।
'६५ प्रतिशत शरीरको भाग जलिसकेको छ,' उनले भने।
हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली उनको जीवन रक्षाका लागि खटिएको छ।
चिकित्सकहरूको टोलीले उहाँको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर विशेष औषधिहरू चलाइरहेको पनि मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।